ला लिगामा बार्सिलोना विजयी भएको छ। बिहीबार राति भएको खेला बार्सिलोनाले रियल ओभिएडोलाई ३–१ले हरायो।
योसँगै बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई ६ खेलसम्म निरन्तरता दिएको छ। ६ खेलमा बार्सिलोनाले ५ जित र १ बराबरी खेलेको छ।
खेलमा बार्सिलोनाका लागि रोबर्ट लोवान्डोस्की, इरिक गार्सिया र रोनाल्ड अरौजोले गोल गर्दा ओभिएडोका अल्बेर्टो रेइनाले गोल गरे।
खेलमा अग्रता पनि ओभिएडोले लियो। ३५औं मिनेटमा उसका रेइनाले गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो।
दोस्रो हाफमा बार्सिलोना हावी भयो। ५६औं मिनेटमा गार्सियाले बार्सिलोनाका लागि बराबरी गोल गरे। ७०औं मिनेटमा लेवान्डोस्कीले बार्सिलोनालाई अग्रता दिलाए। ८८औं मिनेटमा अराउजोले गोल गरेपछि बार्सिलोना ३–१ विजयी भयो।
