आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुरुआत गरेको छ। आइतबार साँझ भएको थ्रीलर म्याचममा नेपालले युएईमाथि १ रनको जित निकाल्यो।
अन्तिम ३ बलमा तीन विकेट लिएपछि नेपालको १ रनको रोमाञ्चक जित सम्भव भएको हो। १४१ रनको सामान्य लक्ष्य पछ्याएको युएईलाई जितका लागि अन्तिम ओभरमा १० रन चाहिएको थियो। सुरुआती तीन बलम ७ रन बनाउँदै जित युएई जित नजिक पुगेको थियो। तर, त्यसपछिका तीन बलमा दुई रनआउटसहित तीन विकेट लिए पनि नेपालल १ रनको रोमाञ्चक जित निकाल्यो।
यो जितसँगै नेपालले सुपर सिक्समा ४ अंक भएको छ। नेपाल रनरेटका आधारमा ओमानभन्दा पछि रहँदै दोस्रो स्थानमा छ।
युएईका लागि अलिसान सरफूले अर्धशतक बनाए। उनले ४० बलमा ३ चौका र ५ छक्का प्रहार गरे। यस्तै, ध्रुव पारसरले १८ बलमा ३२ रन बनाउँदा जोनाथन फगीले १९ रन बनाए।
एक सयम युएई ११ ओभरमा ८३-१को बलियो अवस्थामा थियो। त्यसपछि दीपेन्द्रसिंह ऐरीले लगतार दुई ओभरमा दुई सेट ब्याट्सम्यानलाई आउट गरेपछि नेपाल खेलका फर्किएको थियो। उत्कृष्ट बलिङ गरेका दीपेन्द्रले ४ ओभरमा २२ रन मात्र खर्चेर ३ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले आसिफ सेखको अर्धशतक मद्दतमा ६ विकेटको क्षतिमा १४० रन बनायो। आसिफले ४७ बलमा ४ चौका र १ छक्का मद्दतमा ५१ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेलले २८ रन बनाए। यी दुईले ७.५ ओभरमा ५६ रनको साझेदारी गरेका थिए। यस्तै, कप्तान रोहित पौडेलले २०, गुल्सन झाले १४ र कुशल मल्लले १० रन बनाए।
बलिङमा युएईका जुनैद सिद्धिकी, मुहम्मद रोहिद, जाहिद अली, हैदर अली, हर्षित कौसिक र पारसरले समान १ विकेट लिए।
