सहीद स्मारक ए डिभिजन लिग तोकिएको मितिमा नहुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गरेर ए डिभिजन लिग तोकिएकोा मितिमा नहुने जनाएको हो।
यसअघि एन्फाले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै लिग पुस ९ गतेदेखि असार २६ गतेसम्म हुने बताएको थियो। तर, अहिले सो मितिमा लिग नहुने भएको हो।
यस्तै, लिग तत्काल होम एण्ड अवे फर्म्याटमा नहुने पनि एन्फाले जनाएको छ। होम एन्ड अवेमा खेल खेल्नका लागि क्लवहरुले १० महिनाको समय माग गरेको र अन्य तयारी समेत गर्नुपर्ने भएकाले तत्कालका लागि होम एन्ड अवे प्रणालीमा ए डिभिजन लिग नगर्ने निर्णय गरिएको एन्फा महासचिव किरण राईले बताए।
क्लबहरूको सुझावका आधारमा अहिले होम एण्ड फर्म्याट नगर्ने कुरा भएको छ, अर्को सिजनको लागि त्यो फर्म्याटमा गर्न सकिन्छ,’ उनले भने।
लिग होम एन्ड अवे प्रणालीमा नभएपनि अन्य प्रणालीमा लिग सञ्चालनका लागि छठ पछाडी क्लवहरुसँग छलफल गर्ने उनले बताए ।
महासचिव राईले मिति तलमाथि हुने भएपनि ए डिभिजन लिग गर्नका लागि एन्फाले तयारी गर्ने उल्लेख गरे । ए डिभिजन लिगका साथै राष्ट्रिय लिगका बारेमा पनि छलफल भइरहेको भन्दै यसको आवश्यक निर्णय एन्फा बैठकले गर्ने उनको भनाइ छ।
२०७९/८० को लिग जेठ २३ गते सकिएदेखि अहिलेसम्म नयाँ लिग सुरु भएको छैन। पछिल्लोपटक चर्च ब्वाइजले ए डिभिजन लिगको उपाधि जितेको थियो ।
