सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

खेलकुद मन्त्री गुप्ताले गरे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शनिबार कीर्तिपुरस्थित निर्माणाधीन त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवलोकन गरेका छन्।

अवलोकनका क्रममा मन्त्री गुप्ताले क्रिकेट मैदानको निर्माण कार्यले देशभरका खेलाडीहरूको मनोबल उच्च बनाएको उल्लेख गर्दै सबै नेपालीहरूले यस कार्यमा साथ दिनुपर्ने बताए।

‘सबै नेपालीहरू लाग्नुपर्छ । आज देशैभरि खेलाडीहरूको मनोबल बढेको छ । यहाँ राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय खेलाडीहरूले पनि खेल्ने स्थान बनेको छ,’ उनले भने।

मन्त्री गुप्ताले सरकार अहिले खेल क्षेत्रको हितका लागि नीतिगत रूपमा काम गरिरहेको बताउँदै सीमित समयमा धेरै काम पूरा गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे।

‘हामी टिममा काम गरिरहेका छौं। क्रिकेट मैदानलाई अझ उत्कृष्ट बनाउन क्यानका सदस्यहरूसँग पनि निरन्तर छलफल भइरहेको छ,’ उनले भने।

हाल उक्त मैदानमा पहिलो चरणअन्तर्गत ६ वटा फ्लडलाइट जडान कार्य सम्पन्न हुन लागेको छ भने करिब १० हजार दर्शक क्षमता भएको प्याराफिट निर्माण कार्य पूरा भएको छ।

1.3Kशेयर