विराटनगर किंग्समा फाफ डु प्लेसिसको ओपनिङ जोडी मार्टिन गप्टिल बन्ने

2 Nov, 2025
Share:
117 Shares

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि विराटनगर किंग्सले न्युजिल्यान्डका विस्फोटक ओपनर मार्टिन गप्टिललाई रिनेट गरेको छ। अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटका अनुभवी ३९ वर्षीय गप्टिललाई विराटनगरले दोस्रो सिजन पनि निरन्तरता दिएको हो।

योसँगै विराटनगरले एनपिएलको नयाँ सिजन दुई विस्फोटक विदेशी ओपनरबाट गर्ने भएको छ। यसअघि उसले दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसिसलाई अनुबन्धन गरेको थियो।

पहिलो सिजन गप्टिलले लोकेश बमसँग विराटनगरको इनिङ सुरुआत गरेका थिए। उनले ६ खेलमा १ अर्धशतकसहित १३५ रन बनाएका थिए। प्रतियोगिताको अन्त्यतिर उनले लय समातेका थिए।

एकदिवसीय विश्वकपमा दोहोरो शतक प्रहार गरेका गप्टिलले न्युजिल्यान्डका लागि १२२ टी–२० खेल खेल्दै २ शतक र २० अर्धशतक मद्दतथमा ३५३१ रन बनाएका छन्। एकदिवसीयमा उनले ७ हजार बढी रन बनाएका छन्।

करिअरममा ३५१ टि २० खेल खेल्दै ९९०० रन बनाएका छन्।

दोस्रो संस्करणको एनपिएलका लागि विराटनगरले गप्टिल र डु प्लेसिससँगै स्कटल्यान्डका जर्ज मन्से र अस्ट्रेलियाका साम हिजलेट अनुबन्ध गरेको छ।

सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट, सुवास भण्डारी, सूर्य तामाङ, साहिल पटेल र नारायण जोशीलगायत नेपाली खेलाडी छन्।