हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ बनेका छन्।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगका लागि आइतबार र सोमबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट फास्ट बलर हिक्मत उत्कृष्ट बन्दै ‘आइकोनिक खेलाडी’ बनेका हुन्।
धनगढीस्थित धनगढी क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा करिब तीन सय सहभागी थिए। जगत टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरण गरेर खेलाडी छनोट गरेको हो।
हिक्मतले अब सुदूरपश्चिम रोयल्सको टोलीबाट एनपिएल खेल्नेछन्।
उनले भारतमा क्रिकेटको प्रशिक्षण लिएका छन्। भारतमा अभ्यासका क्रममा भारतीय पूर्वकप्तान रोहित शर्मा र केएल राहुसँगको खिचेको फोटो अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

आइकोनिकबाहेक अन्य पाँच खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ। त्यसमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैसी र अभिषेक कोइराला छन् ।
सुदूरपश्चिमले अस्ट्रेलियका क्रिस लिन र जोश ब्राउन, न्युजिल्यान्डका फास्ट बलर स्कट कुगुलेइन अमेरिका हर्मीत सिंहलाई रिटेन गरेको छ।
सुदूरपश्चिममा नेपाली खेलाडीका रुपमा दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा छन्।
सुदूरपश्चिमले मंसिर ३ गते काठमाडौं गोर्खाजसँग खेल्दै प्रतियोगिताको थालनी गर्ने छ।
