एनपिएलको सम्पूर्ण तयारी पुरा, फ्लडलाइट जेनेरेटरबाट बालिने

15 Nov, 2025
Share:
117 Shares

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलन गर्दै एनपिएलको तयारी पुरा भएको जनाएको हो।

एनपिएलको दोस्रो सिजन मंसिर १ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित टियू मैदाना हुँदैछ।

एनपिएलका धेरै खेलहरु फ्लडलाइटमा हुनेछ भने दर्शकले पनि प्यारापिटमा बसेर खेल हेर्न पाउने छन्। एनपिएलका धेरै खेलहरु डे–नाइट हुनेछ। एनपिएलको दोस्रो संस्करणलाई अझै भव्य बनाउने फ्लडलाइटमा खेल खेलाउन लागिएको क्यानका सचिव पारस खड्काले बताए।

क्यानले जेनेरेटरबाट फ्लडलाइड चलाउने तयारी गरेको छ। फ्लडलाइट बाल्न ७५० केभीको दुई वटा जेनेरेटर सञ्चालन गरिनेछ। दुवै जेनेरेटर चलाउन प्रतिघण्टा ४३ हजार २ सय रूपैयाँ खर्च हुने बताइएको छ।

अहिले टियू मैदानमा फ्लडलाइट अन्तिम परीक्षण भइरहेको छ भने टिमहरू एनपिएलको अन्तिम तयारी गरिरहेका छन्। टिममा आबद्ध भएका विदेशी खेलाडीले धमाधम नेपाल आइरहेका छन् भने केही खेलाडीहरुले प्रशिक्षण पनि सुरु गरिसकेका छन्।

क्यानले एनपिएलको सुरुआती ६ खेलको टिकट बुकिङ पनि खुला गरिसकेको छ।