दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा भारतले नमीठो हार व्यहोरेको छ। कोलकातास्थित इडेन गार्डेनमा भएको खेलमा तेस्रो दिन १२४ रनको झिनो लक्ष्य पछ्याएको भारत ३० रनले पराजित भयो।
पछिल्लो समय घरेलु मैदानमा स्पिनलाई मद्दत गर्ने पिचमा भारतीय ब्याट्सम्यान निकै संघर्ष गरिहेका छन्। सोही क्रम कोलकाता पनि देखियो। १२४ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभरमा ९३ रनमै अलआउट भयो। भारतका लागि वासिङ्टन सुन्दरले सार्वाधिक ३१ रन बनाउँदा अक्षर पटेलले २६, रविन्द्र जडेजाले १८ र ध्रुव जुरेलले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
पहिहो इनिङमै ब्याटिङका क्रममा घाँटीमा चोट लागेपछि कप्तान शुभमन गिल ब्याटिङका लागि नआउँदा भारतलाई घाटा भयो। भारीय इनिङ धरासायी बनाउने क्रममा सिमोन हामरले ४ तथा मार्को यान्सन र केशव महाराजले समान २ विकेट लिए।
त्यसअघि दोस्रो इनिङमा कप्तान टेम्बा बावुमाले सम्हालिएर ब्याटिङ गर्दै अर्धशक बनाएपछि दक्षिण अफ्रिकाले र्यांक टर्नर पिचमा प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो। दोस्रो इनिङमा १५३ रनमै अल आउट भएको दक्षिण अफ्रिकाका लागि बावुमाले ५५ रन बनाएका थिए। तेस्रो दिन आठौं विकेटका लागि बावुमा र कर्विन बोसले ४४ रनको साझेदारी गरेका थिए। बोसले २५ रन बनाए।
बलिङमा भारतका रविन्द्र जडेलाले ४ तथा कुलदीप यादव र मोहम्मद सिराजले समान २ विकेट लिए।
त्यसअघि जसप्रित बुमराहले ५ विकेट लिएपछि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १५९ रन बनाएको थियो भने भारतले १८९ रन बनाएको थियो।
दक्षिण अफ्रिकाले भारतमा १५ पछि जित निकालेको हो। यता, कप्तान टेम्बा बावुमाले आफ्नो जितको यात्रालाई निरन्तरता दिएका छन्। उनको कप्तानीमा दक्षिण अफ्रिकाले ११ खेलमा १० जित र एक बराबरी खेलेको छ। उसले वर्ल्ड टेस्ट च्याम्पियनसिप पनि जितेको थियो।
