आईसीसी महिला टी–२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अमरावती बुटिक होटलले नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
अमरावतीका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले उक्त पुरस्कार घोषणा गरेका हुन् । प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडीलाई ५० हजार र सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडीलाई ३५ हजार पुरस्कार प्रदान गरिने श्रेष्ठले बताए । महिला क्रिकेटलाई प्रोत्साहन गर्न यो घोषणा गरिएको श्रेष्ठले बताए । उनले महिला क्रिकेट विकास र खेलाडीको मिहिनेत र प्रतिभाको कदर गर्न निजी क्षेत्रबाट पनि योगदानको आवश्यकता औंल्याए ।
आईसीसी महिला टी–२० विश्वकप छनोट आइतबार सुरु हुँदै छ । १० राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले जनवरी १८ मा थाइल्यान्ड, जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४ मा जिम्बावे र जनवरी २६ मा स्कटल्यान्डसँग खेल्ने छ ।
