नेपालामा झण्डै तीन वर्षपछि शीर्ष डिभिजनको पुरुष फुटबल सुरु भएको छ। तीन वर्षदेखि ए डिभिजन लिग गर्न नसेको एन्फाले आजदेश राष्ट्रिय लिगको आयोजना गर्दै छ।
लिगको उद्घाटन खेलमा पहिलो खेलमा आज सुर्खेतको काँक्रेविहार युथ क्लब र ललितपुरको फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल विहान ११ बजेदेखि सुरु हुनेछ।
आजै दिउँसो ३ बजे श्री भगवती र चर्च ब्वाइज क्लबबीच पनि खेल हुनेछ। दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।
श्री भगवती बी डिभिजनबाट ए डिभिजनमा बढुवा भएको क्लब हो। यस्तै चर्च ब्वाईजले पछिल्लो पटक २०७९–८० मा भएको सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो।
राष्ट्रिय लिगमा ए डिभिजनका १३ टोलीसँगै एन्फा प्रेसिडेन्ट लिगबाट आएका चार टोली गरी १७ टोलीको सहभागिता रहनेछ। सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा कुल १३६ खेल हुनेछ।
एन्फाले ४८ खेल सम्मको मिति र खेलस्थल समेत तोकेको छ भने ६४ खेलसम्मको मिति पनि तय गरेको छ। बाँकी ७२ खेलको मिति तय हुन बाँकी छ।
राष्ट्रिय लिगको विजेताले ५० लाख पुरस्कार प्राप्त गर्नेछ। दस वर्षपछि राष्ट्रिय लिग फुटबल आयोजना हुन लागेको हो। पछिल्लो पटक २०७२ सालमा राष्ट्रिय लिग फुटबल आयोजना भएको थियो।
एन्फाले शीर्ष श्रेणीको फुटबल सहिद स्मारक ए डिभिजन लिग नियिमत आयोजना गर्न नसकेपछि यस सिजन राष्ट्रिय लिग आयोजना गर्न लागेको हो।
