आइतबारदेखि काठमाडौंमा सुरु हुने आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोटका लागि सबै टिमहरू तयार रहेको बताएका छन् । शनिबार आयोजित प्रि म्याच कन्फ्रेन्समा सबै टिमका कप्तानले प्रतियोगिताका लागि तयार रहेको बताएका हुन्।
कार्यक्रममा नेपाली क्रिकेट टिमकी कप्तान इन्दु बर्माले प्रतियोगिताका लागि उत्साहित रहेको बताइन्। आफूले १८ वर्षपछि ग्लोबल छनोट घरमै खेल्ने मौका पाएको बताइन्।
‘हामी राम्रो क्रिकेट खेल्नेछौं । घरेलु मैदानमा खेल्न उत्साहित छौं, प्रतियोगिता राम्रो हुनेछ भन्ने लागेको छ । १८ वर्षपछि यो मौका पाएका छौं,’ इन्दुले भनिन्, ‘ठूला टिमसँग खेल्न पाएका छौं । अभ्यास खेलबाट धेरै कुरा सिक्ने अवसर पायौं । उत्साहित छौं, कन्फिडेन्ट पनि छौं।’
यो नेपालले आयोजना गर्न लागेको हालसम्मकै ठूलो प्रतियोगिता हो। यस्तो प्रतियोगिताले आउने पुस्तालाई पनि प्लाटफर्म सेट गर्न मद्दत पुग्ने कप्तान इन्दुले बताइन्।
‘महिला क्रिकेटका लागि टर्निङ पोइन्ट नै हो । हामीले जति मेहेनत गरेका छौं, आगामी पुस्ताका लागि पनि राम्रो वातावरण बनाउने प्रयास गरेका छौं । प्लाटफर्म पनि सेट । क्यानलाई पनि अवसर हो,’ उनले भनिन्।
यस्तै अन्य टिमका कप्तानले पनि अभ्यास खेलमा कन्डिशन बुझ्ने अवसर पाएको र प्रतियोगिताका लागि तयार रहेको बताए।
भोलिदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्ने छ।
