टी-२० विश्वकप आजदेखि, उद्घाटन खेलमा भारत-अमेरिका भीड्दै

7 Feb, 2026
Share:
117 Shares

आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। क्रिकेटको महाकुम्भ मानिने यो प्रतियोगितामा आज उद्घाटन दिनमै तीन खेल हुँदैछन् भने आयोजक भारत र अमेरिका बीचको खेलले विशेष चासो तानेको छ।

विश्वकपको पहिलो खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सबीच हुनेछ। यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

त्यसैगरी, नेपाल समावेश रहेको समूह ‘सी’ अन्तर्गत आज स्कटल्यान्ड र वेस्ट इन्डिज आमनेसामने हुँदैछन्। उक्त खेल भारतको कोलकातामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

आजकै सबैभन्दा चर्चित खेल भने आयोजक भारत र अमेरिकाबीच हुनेछ। समूह ‘ए’ कै यो खेल साँझ ७ः१५ बजे मुम्बईको ऐतिहासिक वाङ्खडे स्टेडियममा सुरु हुनेछ । यस खेलअघि भव्य उद्घाटन समारोह आयोजना गरिने आईसीसीले जनाएको छ।

उद्घाटन समारोहमा भारतीय कलाकार ऋषभ शर्मा, शिवमणि, र्‍यापर बादशाह र बलिउड अभिनेत्री नोरा फतेहीले प्रस्तुति दिने कार्यक्रम तय भएको छ। उनीहरूको प्रस्तुतिले रंगशालालाई सांगीतिक माहोलले गुञ्जयमान बनाउनेछ।

यसैबीच, नेपालले आफ्नो पहिलो खेल आइतबार इंग्ल्यान्डसँग खेल्नेछ। पहिलो खेलमै बलियो टोली इंग्ल्यान्डसँगको भिडन्तले नेपाली टोलीको विश्वकप यात्रा कस्तो रहने भन्ने संकेत गर्नेछ।