सावित्राले भनिन्- उपचार सहयोग रोक्नुहोला, सबैलाई धन्यवाद

24 Feb, 2026

काठमाडौं, फागुन १२ राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब सहयोग रकम रोक्न आग्रह गरेकी छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले पछिल्लो २४ घण्टामा आफूले पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो बनाएको उल्लेख गरिन्। आर्थिक सहयोग मात्र नभई अन्य साथ र समर्थनले आफूलाई शल्यक्रिया तथा पुनस्र्थापनाका लागि ऊर्जा दिएको उनको भनाइ छ।

भण्डारीका अनुसार उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्यूजिल्यान्ड डलर) संकलन भइसकेको छ। विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले थप सहयोगको प्रतिबद्धता जनाएकाले उपचार खर्च, आवास तथा यातायात व्यवस्थापन पुग्ने देखिएको उनले बताइन्।

यसैबीच उनी आबद्ध क्लबे वेलिंगटन फिनिक्सलले पनि शल्यक्रिया र पुनस्र्थापनाका लागि बीमा रकम निकासा गरी उपचार प्रक्रियामा सहजीकरण गरिरहेको जनाइएको छ। छिट्टै शल्यक्रिया मिति तय हुनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरिन्।

चोटका कारण शारीरिकसँगै मानसिक रूपमा पनि कठिन समय गुज्रिएको बताउँदै उनले समर्थकको साथले पुनः मैदान फर्कने आत्मविश्वास दिएको बताइन्।

उनले दृढतापूर्वक भनिन्, आफू अझ मजबुत भएर फर्कनेछिन् र पुनः नेपालको जर्सी लगाएर देशका लागि खेल्ने प्रतिबद्धता व्यक्त गरिन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]