युवा खेलाडी लामिन यामलको ह्याट्रिक मद्दमा ला लिगामा बार्सिलोना विजयी भएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ४–१ ले हरायो।
क्याम्प नाउमा भएको खेलमा यामलले २८, ३७ र ६९ औं मिनेटमा गोल गर्दै करिअरको पहिलो ह्याट्रिक पुरा गरे। योसँगै उनी लिगामा ह्याट्रिक गर्ने शताब्दिकै सबैभन्दा कान्छा खेलाडी बनेका छन्।
उनीबाहेक रोबर्ट लेवान्डोस्कीले खेलको इन्जुरी समयमा एक गोल गरे। भिलारियलका पापा गुएले ४९औं मिनेटमा गरेको गोल सान्त्वना मात्र बन्यो।
यो जितपछि बार्सिलोनाले शीर्ष स्थानमा चार अंकको अग्रता लिएको थियो । रियल म्याड्रिड ६० अंकमा दोस्रो स्थानमा छ। रियलले १ खेल कम खेलेको छ।
एटलेटिको म्याड्रिडले अर्को खेलमा रियल ओसिएडोलाई १–० ले पराजित गर्यो र तेस्रो स्थानमा उक्लियो। बार्सिलोनासँग पराजित भिल्लारियल ५१ अंकमै चौथो स्थानमा झरेको छ।
यस्तै रियल सोसिडाडले भने रियल मार्लोकालाई १–० पन्छायो भने रियल भालेकानो र एथलेटिको बिलबाओले १–१ को बराबरी खेले।
