च्याम्पियन्स लिगमा बार्सिलोनाले सानदार जित निकालेको छ।
युवा स्टार लमिन यमालले गोल नगरेपनि सानदार प्रदर्शन गरेपछि बार्सिलोना टर्किस क्लब गालातासारेलाई उसकै मैदानमा ४–१ले हरायो।
खेलमा बार्सिलोनाका लागि जोआ क्यान्सेलो, फेर्मिन लोपेज, एन्थोनी गोर्डन र करिम एडेइमीले गोल गरेका थिए। गालातासारेका एलेक्सी बात्राकोभले गोल गरेका थिए।
खेलमा सुरुवाती अग्रता गालातासारेले लिएको थियो। २८औँ मिनेटमा गालाटासारेका बात्राकोभले गोल गरेका थिए। लगत्तै गालातासारेका भिक्टर ओसिमेन गोल गरे। तर, त्यो भारमार्फत रद्द भएको थियो।
४३औँ मिनेटमा क्यान्सेलोले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। खेलको पहिलो हाफ १–१ कै बराबरीमा सकियो।
दोस्रो हाफको सुरुआतदेखि नै खेलम बार्सिलोना हावी भयो। ५०औँ मिनेटमा फेर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए। त्यसको तीन मिनेटपछि नै एन्थोनी गोर्डनले गोल गर्दै बार्सिलोनालाई ३–१को सहज अवस्थामा ल्याए।
६५औँ मिनेटमा करिम एडेइमीले गोल गरेपछि बार्सिलोना ४–१को सानदार जित निकाल्यो। खेलमा यमालले २ असिस्ट गरेका थिए।
योसँगै बार्सिलोना यो सिजन आफ्नो शतप्रतिशत जितको यात्रालाई १० खेलसम्म निरन्तरता दिएको छ।
