अखिल नेपाल फुटबल संघ (एन्फा)ले समयमै ए डिभिजन लिग समयमै गर्न सम्भव नभएको बताएको छ।
फुटबल खेलाडी संघले ए डिभिजन लिग गर्न माग गर्दै आइतबार एन्फा मुख्यालमा तालाबन्दी गरेपछि विज्ञप्ति निकालेर एन्फाले समयमै ए डिभिजन लिग गर्न असम्भव भएको जनाएको हो।
एन्फाले तालाबन्दीका कारण सबै दैनिक प्रशासनिक गतिविधिहरू अवरुद्ध भएकाले समयमै लिग गर्न असम्भव भएको जनाएको छ।
नेपाल ए डिभिजन लिग भएको ३ वर्षभन्दा बढी भइसकेको छ। लिग समयमै नहुँदा राष्ट्रिय लिगमै रहेका धेरै खेलाडीहरु विदेशिएका छन्।
‘शहीद स्मारक ए डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालनका लागि एन्फा सहभागी क्लबहरू र खेलाडी संघबीच निरन्तर संवाद र समन्वय भई राष्ट्रिय लिग तय भएको र निर्धारित कार्यतालिकाअनुसार राष्ट्रिय लिग सम्पन्न भएको एक महिना पश्चात ए डिभिजन लिग सुरु गर्न एन्फा पूर्ण रुपमा प्रतिवद्ध रहेको र सोही बमोजिम तयारी भइरहेको जानकारी गराउन चाहन्छौँ,’ एन्फाले भनेको छ।
क्लब र खेलाडी संघबीच संवाद र समन्वय भई तय गरिएको कार्यतालिकाअनुसार ‘ए’ डिभिजन लिग गर्न एन्फा प्रतिवद्ध रहेको एन्फाले जिकिर गरेको छ। तर, तालाबन्दी हुँदा दैनिक प्रशासनिक गतिविधि अवरुद्ध हुन गएको कारण सहमति कार्यान्वयन गर्न असम्भव देखिएको एन्फाको तर्क छ।
