अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा यही २४ गते सार्वजनिक बिदाको दिन कुनै पूर्व जानकारी र संवाद बिना अप्रत्याशित रूपमा गरिएको तालाबन्दीप्रति एन्फाले गम्भीर ध्यानाकर्षण गराएको हो ।
‘अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा मिति २०५२ फागुन २४ गते, सार्वजनिक विदाको दिन सदस्य संस्था ‘नेपाल फुटबल खेलाडी संघ’ बाट कुनै पूर्व जानकारी र संवाद बिना अप्रत्याशित रूपमा गरिएको तालाबन्दीप्रति एन्फाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
‘ए’ डिभिजन लिग सञ्चालनका विषयमा सहभागी क्लबहरू र खेलाडीबीच निरन्तर संवाद भइरहेको जनाएको छ। राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने तयारी गरिएको पनि एन्फाले जनाएको छ।
एन्फाले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट फाइनल खेलको टिकट बिक्रीबाट आएको केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा एन्फा प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
एन्फाले खेलाडीको पुरस्कार, तलब तथा भत्ताको विषयमा भने वर्तमान कार्यसमितिले घोषित पुरस्कार पूर्ण रूपमा भुक्तानी गरिसकेको र अघिल्ला कार्यसमितिले बाँकी राखेका पुरस्कार रकम पनि आन्तरिक स्रोतबाट क्रमशः भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ।
