जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा बायर्नले स्पेनी महारथी रियल मड्रिडलाई ४–३ ले हराउँदै समग्रमा ६–४ को जित निकालेको हो।
एलियान्ज एरेनामा भएको खेल निकै रोमाञ्चक रह्यो। खेलको पहिलो मिनेटमै आर्डा गुलेरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसको केहीबेरमा नै छैटौं मिनेटमा बायर्नका एलेक्जेन्डर पाभ्लोभिकले बराबरी गोल फर्काए।
गुलेरले २९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे। ३८औं मिनेटमा ह्यारी केनले गोल गर्दे फेरि बराबरी गरे । ४२औं मिनेटमा किलियन एमबाप्पेले गोल गरेपछि पहिलो हाफमा रियल ३–२ ले अघि रह्यो । यतिबेलासम्म समग्र स्कोर ४–४ भएको थियो।
दोस्रो हाफमा खेल केही शान्त बने पनि अन्त्यतिर नाटकीय मोड आयो। ८६औं मिनेटमा रियलका एडुआर्डो कामाभिंगा दोहोरो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सीमित भयो।
८९औं मिनेटमा लुइस डियाजले उत्कृष्ट गोल गर्दै बायर्नलाई जिततर्फ नजिक ल्याए। त्यसपछि इन्जुरी समयमा माइकल ओलिसले अर्को गोल थप्दै ४–३ को जितसहित समग्रमा ६(४ को जित सुनिश्चित गरे। इन्जुरी समयको अन्त्यतिर गुलेरले पनि रातो कार्ड पाएका थिए।
बायर्नले अब फाइनल प्रवेशका लागि साविक विजेता पीएसजीसँग खेल्नेछ।
