डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी प्रिमियर लिग लागतार तेस्रो खेलमा बराबरीमा रोकिएको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा सिटी २ पटकको अग्रता जोगाउन नसक्दा टोटनहमसँग ३–३ गोलको बराबरीमा रोकियो।
खेलमा सिटीका फिल फोडेन र ज्याक ग्रेलिसले गोल गर्दा एक गोल आत्मघाती भएको थियो। टोटनहमाका सन ह्युङ मिन, जियोभानी लो सेल्सो र डुभान कुलुसेवेस्कीले गोल गरेका थिए।
सनले खेलको छैटौं मिनेटमा काउन्टरमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाए। तर सनले नै नवौँ मिनेटमा आत्मघाती गोल गरेपछि खेल १–१को बराबरीमा खायो। खेल बराबरीमा आएपछि सिटी पूर्ण रुपमा दबाबमा राख्यो। ३१औं मिनेटमा फिल फोडेनले सिटीलाई अग्रता दिलाए। पहिलो हाफमै सिटीले ३–४ निश्चित गोलका अवसर गुमायो। उसका २ प्रहार पोस्टमा लागेको फर्किएको थियो।
तर, ६९औं मिनेटमा लो सेल्सोले टोटनहमका लागि बराबरी गोल फर्काए। ८१औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए। तर, ९०औं मिनेटमा कुलुसेभ्स्कीले टोटनहमका लागि बराबरी गोल गरेपछि सिटी लगातार तेस्रो खेलमा बराबरी खेल्न बाध्य भयो।
यता, रोमाञ्चक खेलमा लिभरपुल विजयी भएको छ। उसले फुलहममाथि ४–३को जित निकाल्यो। ३–२ले पछि परेको लिभरपुलले अन्तिम समयमा २ मिनेटमा २ गोल गर्दै रोमाञ्चक जित निकाल्यो।
उसका लािग ट्रेन्ट अलेजान्डर आर्नोल्ड, एलेक्सिस म्याक एलिस्टर र वाटारु इन्डोले गोल गरेका थिए। एक गोल आत्मघाती भएको थियो। फुलहमका ह्यारी विल्सन, केनी टेटे, बबी डे रेइडले गोल गरेका थिए।
अर्को खेलमा १० खेलाडीमा समेटिएको चेल्सीले ब्राइटनलाई ३–२ ले हरायो।
बराबरीपछि सिटी ३० अंकसहित तेस्रो स्थानमा झर्दा रोमाञ्चक जित निकालेको लिभरपुल ३१ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। आर्सनल ३२ अंकसहित शीर्ष स्थानमा छ। यता, टोटनहम २७ अंकसहित पाँचौं स्थानमा रहँदा ब्राइन्ट २२ अंकसहित आठौं, चेल्सी १९ अंकसहित दासौं स्थानमा छ।