धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करण मंसिर १२ गते शनिबार नेपालगन्जमा हुने भएको छ। यसपटक म्याराथनमा १२ विधामा दौड समावेश गरिएको छ।
स्थानीय बीपी चोकबाट सुरु हुने म्याराथनमा ४२ किलोमिटर पुरुष खुला, २१ किलोमिटर महिला खुला, १० किलोमिटर पुरुष खुला, १० किलोमिटर महिला खुला, पाँच किलोमिटर पुरुष खुला, पाँच किलोमिटर महिला खुला, पाँच किलोमिटर स्कुलस्तरीय छात्र–छात्रा दौड, तीन किलोमिटर कर्पोरेट रन, तीन किलोमिटर किड्स रन, तीन किलोमिटर ह्वीलचेयर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल समावेश छन्।
४२ किलोमिटरको पुरुष खुला म्याराथनमा महिलाले पनि आफ्नो व्यक्तिगत समयका लागि दौडिन चाहेमा विद्युतीय चिप उपलब्ध गराइनेछ। त्यस्तै, महिलाका लागि निर्धारित २१ किलोमिटर हाफ म्याराथनमा समय सुधारका लागि दौडिन चाहने पुरुष धावकलाई पनि विद्युतीय चिप प्रदान गरिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए।
४२ किलोमिटरतर्फ विभिन्न उमेर समूहमा समेत वरियताक्रम निकालिने उनले बताए। ४० देखि ५०, ५० देखि ६० र ६० देखि ७० वर्ष उमेर समूहका धावकलाई पहिलो, दोस्रो र तेस्रो वरियता प्रदान गरी प्रोत्साहन गरिनेछ।
एबोट वर्ल्ड म्याराथन मेजरसँगको सहकार्यमा उमेर समूहका धावकलाई विश्वव्यापी वरियतामा समावेश गर्ने व्यवस्था यसपटक पनि निरन्तर रहनेछ। साथै, उमेर समूहको विश्व च्याम्पियनसिपमा सहभागिताका लागि सहजीकरण गरिनेछ।
विभिन्न विधाका शीर्ष धावकलाई मेजर म्याराथनलगायत वर्ल्ड एथलेटिक्सका प्लेटिनम, गोल्ड, इलाईट र लेभल रेसमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले जनाएको छ। अनलाइन दर्ता खुला भइसकेको दर्ता संयोजक गगन थापाले जानकारी दिए। दर्ताका लागि नेपालगन्ज म्याराथनको वेबसाइटमा जानुपर्ने उनले बताए।
नेपालगन्ज म्याराथनले गत जुनमा नर्वेको ट्रम्सोमा विश्वभरका रेसमध्ये एम्स सोसल अवार्ड प्राप्त गरेको थियो।
सशस्त्र द्वन्द्व विधिवत् अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता भएको ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि नेपालगन्ज म्याराथन सुरु गरिएको हो।
