नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्ससँग हाइअर जोडिएको छ। दुइ पक्ष बीच व्यावसायीक सम्झौता भएको छ। तेस्रो सिजनको एनपिएलमा च्याम्पियन लुम्बिनी लायन्सको कुलेस्ट पार्टनरको रुपमा हाइअर रहने छ।
लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र कन्जुमर इलेक्ट्रोनिक्सका उपाध्यक्ष सैलेन्द्र झाले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुरुप लुम्बिनी लायन्सको खेलाडीले लगाउने खेलाडीको जर्सीको छातीमा हाइअरको लोगो हुनेछ।
लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले ग्लोबल ब्रान्डको रुपमा रहेको हाइअरसँग जोडिन् पाउनु एनपिएलकै लागि ठुलो सन्देश भएको जनाए।
‘हाइअर एउटा ग्लोबल ब्रान्ड हो, यस्तो कम्पनीसँग लुम्बिनी लायन्स जोडिँदा एनपिएलका लागि पनि ठुलो अर्थ राख्छ। ग्लोबल र मल्टिनेसन्स कम्पनीसँग कुनै पनि फ्रेन्चाइज जोडिदा त्यसले एनपिएलको उचाईलाई पनि बढाउँछ,’ उनले भने।
‘हाइअर नम्बर १ ग्लोबल ब्रान्ड हो र लुम्बिनी लायन्स एनपिएलको २०२५ का विजेता टिम भएका कारणले पनि हामी यो साझेदारी गर्दछौं। यो साझेदारीले नेपाली क्रिकेटलाई नयाँ आयाममा पुर्याउँछ भन्ने विश्वास हाम्रो ब्रान्डको छ। लुम्बिनी लायन्स, जसले क्रिकेटका लागि ठुलो योगदान दिएको छ, यस टिमसँग जोडिन पाउँदा हाम्रो ब्रान्ड खुशी र उत्साहित छ,’ सम्झौतापछि कन्जुमर इलेक्ट्रोनिक्सका उपाध्यक्ष सैलेन्द्र झाले भने।
नेपाली राष्ट्रिय टोलीका प्रमुख ब्याटर रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्स एनपिएलको तेस्रो सिजनमा उत्रिने छ । रोहितसहित सन्दीप जोरा, शेर मल्ल, दीलिप नाथ, तिलकराज भण्डारी, दीनेश अधिकारी र अभिषेक गौतमलाई लुम्बिनीले तेस्रो सिजनका लागि ‘रिटेन’ गरेको थियो भने अक्सनबाट आसिफ शेख, किशोर महतो, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव र अजय चौहानलाई लिएको थियो।
लुम्बिनी लायन्समा अस्ट्रेलियाका ओपनिङ ब्याटर डी’आरी शर्ट, नामिबियाका फास्ट बलर रुबेन ट्रम्पलमन, श्रीलंकाका विकेटकिपर निरोशन डिकवेला लगायतका विदेशी खेलाडी अनुबन्धन गरिसकेको छ ।
