सामग्रीमा जानुहोस्
शनिबार, कात्तिक १४, २०८३

अध्यक्ष र महासचिवलाई स्पष्टीकरण सोध्ने एन्फाको निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा)ले भ्रष्टाचार तथा खेल मिलेमतो आरोप लागेका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महसचिव किरण राईलाई स्पष्टीकरण सोध्ने भएको छ।

शुक्रबार बसेको बहुमत कार्यसमितिको बैठकले अध्यक्ष नेम्बाङ, महासचिव राई तथा कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा लागेका अध्यक्ष र महासचिवसहित ४ जनालाई स्पष्टीकरण दिन ३ दिनको समय दिइएको छ।

बैठकले पछिल्लो समय एन्फाका बारेमा आएको विषयवस्तुबारे सम्बन्धित व्यक्तिबाटै जानकारीका लागि पत्राचार गर्ने निर्णय गरेको छ।

बैठकले एन्फाको वर्तमान अवस्थाले समग्र नेपाली फुटबल परिवारमा अन्योल सिर्जना गरेको निष्कर्ष निकाल्दै संस्थालाई नियमित प्रक्रियामा फर्काउने र प्रशासनिक तथा संस्थागत कामकारबाहीलाई व्यवस्थित बनाउने आवश्यकता औंल्याएको छ।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुुद्दा परेका अध्यक्ष नेम्बाङ र महासचिव राई समान ५ लाख धरौटीमा छुटेका छन् भने कोषाध्यक्ष जोशी १५ र लेखापाल सन्जीव पाण्डे १२ लाख धरौटीमा रिहा भएका छन्।

यस्तै, बैठकले फिफा र सरकारसँग समन्वय गर्न उपाध्यक्ष दीपक खतिवडाको नेतृत्वमा समन्वय समिति गठन गरेको छ। समितिमा उपाध्यक्षद्वय दीर्घबहादुर केसी र विराटजंग शाही तथा सदस्यहरू टिकाराम लामा र मनिष जोशी छन्।

बैठकले प्रशासन चलाउन र पत्राचारका लागि सहायक महासचिव बद्री भट्टराई निमित्त महासचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। यस्तै फिफा यू–१५ विश्वकप तथा फेस्टिभलमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीलाई प्रोत्साहनका लागि सरकारलाई पत्राचार गर्ने निर्णय भएको भट्टराईले बताए।

सेयर गर्नुहोस्

1.2KShares