नेपाल फुटबल लिग ९एनएफएल०मा तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाइएको छ।
विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौँडा, भक्तपुर, नेपालगन्ज, सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका निम्ति बोलपत्र पेस गर्न शुक्रबार आह्वान गरिएको हो।
नयाँ क्लबका निम्ति बोलपत्र पेस गर्ने अन्तिम मिति यही कात्तिक ३० तोकिएको छ। बोलपत्र फारामको शुल्क ५० हजार रुपैयाँ निर्धारण गरिएको छ।
नयाँ क्लबका निम्ति आवेदन दिन इच्छुक पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ।
नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण आउँदो फागुन १ गतेदेखि सञ्चालन गरिने घोषणा भइसकेको छ।
एनएफएलको पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले खेल्ने यसअघि नै पक्का भइसकेको छ । हाल लिगमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसी छन्।
रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजना छ। तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुने आयोजकले जनाइसकेको छ।
