सामग्रीमा जानुहोस्
शुक्रबार, कात्तिक २०, २०८३

ब्याटिङ कोल्याप्स हुँदा काठमाडौंसँग विराटनगरको नमीठो होर

ब्याटिङ कोल्याप्स भएपछि एनपिएलमा विराटनगर किंग्सले नमीठो हार व्यहोरेको छ। बिहीबार भएको खेलमा विराटनगर काठमाडौं गोर्खाजसँग ९ विकेटको फराकिलो अन्तरले पराजित भयो।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले काठमाडौंले ९.४ ओभरमा एक विकेट गुमाएर भेट्टायो।

उसका लागि अस्ट्रेलियन स्टार डेभिड वार्नरले विस्फोटक ब्याटिङ गरे। उनले २४ बलमा २ चौका र ३ छक्कासहित अविजित ४४ रन बनाए। विल बोसिस्टोले पनि २४ बलमा ३ चौकासहित अविजित २३ रन जोडे।

वार्नर र बोसिस्टोबीच दोस्रो विकेटका लागि अविजित ६९ रनको साझेदारी भयो। यही साझेदारीले काठमाडौंलाई सहज जित दिलायो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्स १८.३ ओभरमा ८३ रनमै अलआउट भएको थियो। यो जारी सिजनमा विराटनगरको सबैभन्दा कम योगफल हो।

विराटनगरको सुरुवात निकै खराब रह्यो। उसले १२ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो। शेहान जयसूर्या ५, इमरान शेख शून्य र लोकेश बम ६ रनमा आउट भए। त्यसपछि पनि विकेट पतन रोकिएन। बसीर अहमदले १० रन बनाए पनि नारायण जोशी र शुभम रञ्जने खाता नखोली आउट भए। आन्द्रे रसेल ३ रनमा पेभेलियन फर्किएपछि विराटनगर ९।४ ओभरमा ३५ रन जोड्दा सात विकेट गुमाएर संकटमा परेको थियो।

त्यसपछि एन्जेलो म्याथ्युज र रुपेश सिंहले आठौं विकेटका लागि ३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। म्याथ्युजले ३१ बलमा २२ र रुपेशले २७ बलमा २६ रन बनाए।

तर १६.२ ओभरमा म्याथ्युज आउट भएपछि उक्त साझेदारी टुट्यो। त्यसको चार बलपछि रुपेश पनि आउट भए। उनले बनाएको २६ रन विराटनगरका ब्याटरमध्ये सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा ११ रनमात्र खर्चिए। शेहान अरागिचे र करण केसीले समान २ विकेट लिए। शहाब आलम, जहानदाद खान र देव शाहले एक–एक विकेट हात पारे।

यो काठमाडौंको तीन खेलमा दोस्रो जित हो। जितसँगै चार अंक जोडेको काठमाडौं अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। विराटनगर भने पाँच खेलमध्ये तीनमा पराजित भएको छ। चार अंक नै भए पनि रनरेटका आधारमा विराटनगर पाँचौं स्थानमा झरेको छ।

सेयर गर्नुहोस्

1.3KShares