कसरी रेलिगेसन भयो सान्तोस?

9 Dec, 2023

पेले बितेको एक वर्षमात्र के भएको थियो, ब्राजिली फुटबल क्लब सान्तोसमाथि अर्को दुःख आइपरेको छ । भनिन्छ, फुटबल असाध्यै निर्दयी खेल छ । त्यसैले यसको लिगमा रेलिगेसन हुन्छ।

रेलिगेसनमा पर्नु भनेको कोही आफ्नै बितेजस्तै हो। जुन मैदानमा पेलेको अन्तिम संस्कार आयोजना गरिएको थियो, त्यहीं सान्तोसका केही समर्थकले उपद्रो मच्चाए । उनीहरूले सहनै सकिरहेका थिएनन्, किनभने उनीहरूको प्रिय क्लब सान्तोस रेलिगेसनमा परेको छ।

ती समर्थकमध्ये कोही पागलझै चिच्याइरहेका थिए । कोही बेसुरमा कसैमाथि रिस पोखिरहेका थिए । क्हेी समर्थकले बाटोमा निस्केर बस जलाए । त्यसले स्थिति अझ नाजुक बन्यो । पूरा सहरमा संकटको बेला जस्तो हुने स्थिति बनेको थियो । त्यसैले प्रहरीमात्र होइन, सेना पनि सडकमा ओर्लिनुपरेको थियो । बेलमिरो स्टेडियम धेरैका लागि दन्त्यकथाको पात्र जस्तै हुनसक्छ, किनभने यहाँ अनेक ताजुब लाग्ने कथा लेखिएका छन् ।

यो मैदानले विश्व फुटबलका सर्वकालीन महान् खेलाडी पेले दिएको छ । यहाँ अनेक जितका अनौठा गाथा लेखिए । अब त्यहीं रेलिगेसनको कथा पनि लेखिएको छ । यो यस्तो घटुवा रहेको छ, जुन क्लबको १ सय ११ वर्षको इतिहासमा कहिल्यै लेखिएको थिएन ।

बिहीबार सान्तोस ब्राजिलको माथिल्लो डिभिजनबाट रेलिगेसनमा पर्ने निश्चित भएको थियो । ब्राजिलको सही परिचय फुटबल हुने गर्छ अनि सान्तोस त्यसको एउटा कारण ।

यही क्लब आजभोलि टुट्ने स्थितिमा छ । त्यहाँ नराम्रो के हुन्छ, त्यो सबै छ । जस्तो क्लब आफैंमा ठूलो घाटामा छ । त्यसैले टोलीमाथि चर्को ऋण छ । फुटबलमा राजनीति छिर्नु हुन्न भनेको यही हो । अहिले सान्तोस राजनीतिक रूपमा पनि पूर्णतः विभाजित छ । यता ब्राजिलको फुटबल आफैं निकै प्रतिस्पर्धात्मक भएको छ । त्यसै कारण यो महँगो पनि छ ।

अब यही स्थितिमा सान्तोसलाई बाँच्न गाह्रो भएको छ । त्यही बेलमिरो रंगशालामा जम्मा भएकामध्ये केही समर्थकले क्लबका अध्यक्ष आन्द्रेस रुएडा कता छन् भनेर पनि खोजे ।

समर्थकको आरोप छ, अराजक व्यवस्थापनकै कारण क्लब रेलिगेसनमा परेको हो । अन्यथा सान्तोस जत्तिको क्लब पनि रेलिगेसनमा पर्छ र रु नत्र ब्राजिली विश्वासको कुरा हो, फुटबलको देउता छ भने त्यसले सान्तोसको रक्षा गर्छ । सान्तोसमा असाध्यै चलखेल चलिरहेको छ भन्नुको सबैभन्दा ठूलो प्रमाण त पछिल्लो तीन वर्षमा १० प्रशिक्षक आउनु र जानु नै हो । प्रशिक्षक त यति आए र गए भने पक्कै खेलाडीको आउने जाने क्रम पनि असाध्यै चलेको हुनुपर्छ ।

प्रकोपले सताएको दिन सान्तोस फोरटालेजाको हातबाट २–१ ले पराजित भएको थियो । टिमले यसअघिका ४ खेलमा पनि जित निकाल्न सकेको थिएन । त्यो खेलमा विययी रहेको भए सान्तोस ब्राजिलको माथिल्लो डिभिजनको फुटबलमा कायम रहन्थ्यो ।

यहाँनिर उल्लेख गर्ने पक्ष के भन्दा सान्तोसले रेलिगेसनबाट बच्न संघर्ष गरेको यो नै पहिलो सिजन थिएन । यसअघिका दुई सिजनको कथा उही थियो । फरक के भने बल्लतल्ल अन्तिम दिनको खेलमा सान्तोसले आफूलाई घटुवा हुनबाट रोकेको थियो ।

अब जहिल्यै त्यस्तो त भइरहन्न । त्यो अन्तिम खेल हेर्न २० हजार सान्तोस समर्थक रंगशाला पुगेका थिए । अब त फ्लेमिङ्गो र साओपाउलो मात्र त्यस्ता दुई क्लब रहे, जसले आफ्नो इतिहासमा कहिल्यै रेलिगेसनको सामना गर्नुपरेन ।

पेलेको निधनयता सान्तोसका समर्थकले पूरा सिजन एउटा काम लगातार गरिरहेको थियो । प्रत्येक खेलले १० मिनेट छुँदा त्यतिबेला अवसरको रूपमा मनाउने । सबैलाई थाहा छ, १० नम्बर जर्सीलाई प्रख्यात बनाएको भनेकै पेलेले हो ।

पेलेकै कारण सान्तोस आफैं उत्तिकै रूचाइएको क्लब रह्यो । ५० को दशकदेखि ६० सम्म यो क्लबको स्वर्णिम युग मानिन्छ, जतिबेला पेलेले त्यहाँ खेलिरहेका थिए । यो १० वर्षमा टोलीले ६ ब्राजिली लिग उपाधि जितेको थियो । सँगै दक्षिण अमेरिकाको युरोपेली च्याम्पियन्स लिग रहेको कोपा लिबर्टोडोरेस पनि जितेको थियो ।

पेलेमात्र यस क्लबबाट खेलेका प्रख्यात खेलाडी होइनन् । नेयमर, रोबिन्हो, रोड्रिगो जस्ता अनेक अहिलेका पुस्ताका खेलाडी पनि सान्तोसले नै जन्माएको हो ।

पेलेको जमानाका एक खेलाडी हुन्, पेपे । उनले सान्तोसका लागि ७ सय ५० खेल खेलेर ४ सय ५ गोल गरेका छन् । उनले त्यहाँको स्थानीय मिडियालाई भनेका छन्, ‘म ८८ वर्षको भएँ । मैले आफ्नो जीवनमा सबथोक देखें खुसी, दुःख, वेदना, आक्रोश । तर सान्तोस रेलिगेसनमा पर्नु जत्तिको पीडा कहिल्यै देख्नुपरेन ।’

सान्तोसको टाउकोमा अहिले नै १४ करोड २० लाख डलरभन्दा बढीको ऋण छ । खासमा सान्तोसले यस सिजन आफूलाई बचाउने खालको खेल पनि खेल्न सकेको थिएन ।

यो सिजन सान्तोसले कमाएको भनेकै जम्मा ४३ अंक हो । यस्तोमा क्लब २० टिममध्ये १७ औं स्थानमा रह्यो । ब्राजिली कप प्रतियोगितामा पनि टोलीको खास केही चलेन । फेरि टिममा राम्रा खेलाडीको पनि कमी थियो । जति खेलाडी थिए ती अन्यत्र नबिकेका थिए । अब के त रु जे पनि हुनसक्छ । प्रायः के देख्न पाइन्छ भने रेलिगेसनमा परेको टिम यति धेरै स्तब्ध हुन्छ कि उसले खेल्नै सक्दैन र झन्झन् दलदलमा फस्न थाल्छ ।

त्यो भनेको एकपछि अर्को घटुवा नै हो । हुनसक्छ, अर्को सिजन नै सान्तोसले माथिल्लो डिभिजनमा सिधै उक्लन पनि सक्छ, किनभने यो साँच्चै ठूलो क्लब हो । स्थानीय मिडियाकै भनाइ मान्ने हो भने सान्तोसलाई त फुटबलको भगवान्ले सजाय दिएको हो, असाध्यै धेरै बेथितिका लागि ।

त्यही सजायकै कारण सान्तोस दोस्रो डिभिजनमा झर्‍यो । अझै मौका छ आफू सप्रने र बेथिति जति ठीक पार्ने । एक सिजन रेलिगेसनमा परेर ‘बी’ डिभिजनमा खेल्दैमा के भयो र रु

यसका सारा ख्याति त मरेकै छैन नि । त्यसैले एक खेमाका समर्थकले भनिरहेका छन्, त्यो दिन धेरै टाढा छैन, जतिबेला सान्तोसले फेरि ‘ए’ डिभिजनमा खेल्नेछ । क्लबका पूर्व खेलाडी डोडोले ठीकै भनेका छन् ।

आजभोलि टीभीमा फुटबल पण्डितको काम गर्ने डोडो भन्छन्, ‘सान्तोससामु राम्रो टिम बनाउने र प्रदर्शनमा सुधार्ने अवसर त छँदै छ नि । हामी सबैलाई पेलेले माथिबाट हेरिरहकै हुनेछ । सान्तोस फेरि चम्कने छ, यो मर्दैन ।’ (कान्तिपुर)