सामग्रीमा जानुहोस्
शनिबार, मंसिर १२, २०८३

महिला क्रिकेटमा आर्मी सेमिफाइनलमा, कर्णाली बाहिरियो

SabaiKhel default image

विभागीय टोली त्रिभुवन आर्मी क्लब दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार भएको खेलमा सहआयोजक कर्णाली प्रदेशलाई ९७ रनले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो।

लगातार दोस्रो हार बेहोरेसँगै कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि कर्णाली कोशी प्रदेशसँग पराजित भएको थियो। वीरेन्द्रनगर रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १३८ रन बनायो।

आर्मीका लागि राष्ट्रिय टोलीकी सदस्य सम्झना खड्काले सर्वाधिक ६२ रन बनाइन्। ५८ बल खेलेकी उनले १० चौका प्रहार गरिन्। यशोदा विष्टले ३३ र कविता कुँवरले अविजित ११ रन बनाइन्।

कविता ६ बलमा ११ रन जोड्दै नटआउट रहिन्। विन्दु रावलले सात र रुवि पोदारले पाँच रन थपिन्। आर्मीले २० रन अतिरिक्त पाएको थियो।

कर्णालीका गंगा खड्का, रमा बुढाथोकी, सोना चन्द र किरणकुमारी कुँवरले एकरएक विकेट लिए।

१३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै समेटियो। उसका लागि जयन्ती चन्दले सर्वाधिक १० रन बनाइन्।

कप्तान करुणा कुमारी कुँवरले आठ, शिखा दवाडीले छ र रेखा सोनीले पाँच रन जोडिन्। रविना बुढामगरले तीन तथा उमा चौधरी, श्रुती बुढा र अञ्जु गुरुङले एक–एक रन बनाए।

कर्णालीको ब्याटिङ ध्वस्त पार्ने क्रममा आर्मीकी मनिषा उपाध्यायले चार विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १० रन मात्रै खर्चिइन्।

यमुना थारुले चार ओभरमा एक मेडनसहित तीन विकेट लिइन्। कविता कुँवरले दुई र लक्ष्मी साउँदले एक विकेट हात पारिन्।

सेयर गर्नुहोस्

1.6KShares