सामग्रीमा जानुहोस्
शनिबार, मंसिर १२, २०८३

मुम्बईको कप्तानका रूपमा फर्किए राेहित

हार्दिक पाण्ड्याले कप्तानी सम्हालेको तीन वर्षपछि रोहित शर्मा पुनः मुम्बई इन्डियन्स (एमआई) को कप्तान बनेका छन्। उनी आईपीएल २०२७ मा मुम्बईको नेतृत्व गर्दै मैदान उत्रिनेछन्।

गत साता खेलाडी रिटेन्सनको समयसीमाअघि मुम्बईले हार्दिक पाण्ड्यालाई पञ्जाब किङ्स (पीबीकेएस) सँग साटफेर गर्दै अर्शदीप सिंहलाई टोलीमा भित्र्याएको थियो। त्यसपछि रोहितलाई कप्तानीको जिम्मेवारी दिइएको हो। आगामी अप्रिलमा ४० वर्ष पुग्न लागेका रोहितले अन्तिमपटक सन् २०२३ मा मुम्बईको कप्तानी गरेका थिए। उक्त सिजन मुम्बई गुजरात टाइटन्ससँग दोस्रो क्वालिफायरमा पराजित भएको थियो।

रोहितबाहेक मुम्बईले कप्तानीका लागि अन्य खेलाडीहरूको नाममा पनि विचार गरेको थियो। जसमा जसप्रित बुमराह, सूर्यकुमार यादव, तिलक वर्मा र न्युजिल्यान्डका सीमित ओभरका कप्तान मिचेल सान्टनरसमेत रहेका थिए।

रोहितले पुनः कप्तानीको जिम्मेवारी पाउँदा खुसी व्यक्त गर्दै भनेका छन्, “मुम्बई इन्डियन्स मेरो जीवनको निकै महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ। यस टोलीको नेतृत्व गर्नु सधैँ मेरा लागि गर्वको विषय रहँदै आएको छ। आगामी सिजनका विषयमा नीता अम्बानी भाभी र आकाश अम्बानीसँग भएको कुराकानी निकै उत्साहजनक रह्यो। हामीले सँगै हासिल गर्न सक्ने उपलब्धिप्रति मलाई ठूलो विश्वास छ। म टोलीको २०औँ सिजन र आगामी चुनौतीका लागि तयार छु। हाम्रा समर्थकलाई खुसी मनाउने धेरै अवसर दिन चाहन्छु। हाम्रो ध्यान आफ्नै शैलीको क्रिकेट खेल्ने, एकजुट भएर प्रतिस्पर्धा गर्ने र खेलको आनन्द लिनेमा हुनेछ।”

रोहित मुम्बई इन्डियन्सका सबैभन्दा लामो समय कप्तानी गर्ने खेलाडी हुन्। उनले आईपीएल र च्याम्पियन्स लिग टी–२० गरी कुल १६३ खेलमा टोलीको नेतृत्व गरेका छन्। जसमा मुम्बईले ९३ खेल जित्दा ७० खेलमा हार बेहोरेको छ।

उनकै कप्तानीमा मुम्बईले पाँचपटक आईपीएलको फाइनल खेलेको थियो। सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० मा फाइनल पुगेको मुम्बईले पाँचैपटक उपाधि जितेको थियो।

आईपीएल २०२४ अघि मुम्बईले गुजरात टाइटन्सबाट हार्दिक पाण्ड्यालाई टोलीमा भित्र्याएको थियो। त्यसपछि उनलाई रोहितको स्थानमा कप्तान नियुक्त गरिएको थियो।

तर हार्दिकको नेतृत्वमा पाँचपटकको च्याम्पियन मुम्बईले त्यसपछिका तीन सिजनमा अपेक्षित स्थिरता र निरन्तरता कायम गर्न सकेन। सन् २०२४ मा टोली अंकतालिकाको अन्तिम स्थानमा रह्यो। त्यसपछिको सिजन प्लेअफमा पुगे पनि दोस्रो क्वालिफायरमा पञ्जाब किङ्ससँग पराजित भयो। यस्तै, आईपीएल २०२६ मा मुम्बई नवौँ स्थानमा सीमित भयो।

सन् २०२४ मा मुम्बईको कप्तानी सम्हालेको पहिलो सिजनमै घरेलु मैदानका समर्थकबाट हार्दिकले आलोचना र हुटिङको सामना गर्नुपरेको थियो। त्यसपछि पनि उनको कप्तानी निरन्तर दबाबमा रह्यो र नेतृत्व क्षमतामाथि प्रश्न उठिरह्यो।

उनको व्यक्तिगत प्रदर्शन पनि अपेक्षाअनुसार हुन सकेन। अन्ततः गत वर्ष हार्दिकले फ्रेन्चाइजलाई आफू अब टोलीबाट अगाडि बढ्न तयार रहेको जानकारी गराएका थिए।

सम्पूर्ण परिस्थितिको समीक्षा गर्दै र हार्दिकलाई टोलीमै राख्ने सम्भावनासमेत विचार गरेपछि मुम्बईले अन्ततः हार्दिक र अर्शदीपबीच खेलाडी साटफेर गर्ने निर्णय गरेको थियो।

सेयर गर्नुहोस्

1.1KShares