कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को मंगलबार सम्पन्न दुई खेलमा शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् ।
शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई र धनगढीले शारदा सेकेण्डरी स्कुललाई पराजित गरेको हो।
पहिलो खेलमा शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसनले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित ग¥यो। समूह चरणमा सबै ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको शुक्लाफाँटाले सेमिफाइनल सम्भावना जीवितै राखेको छ।
दुवै खेल जितेको धनगढी स्पोर्ट्स क्लब अन्तिम खेलमा खप्तड इनडोरसँग पराजित भयो। शुक्लाफाँटाले दिएको १८४ रनको लक्ष्य पछ्याएको कैलालीले १८.४ ओभरमा ९३ रन बनाउँदा सबै विकेट गुमायो।
कैलालीका नरेन साउदले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। शुक्लाफाँटाको बलिङमा वसन्त खत्री, भारत चन्द र निरञ्जन गौतमले २÷२ विकेट तथा भारत चन्द, कैलाश ऐर, सुशील रावल र विकास ऐरले १÷१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको शुक्लाफाँटा ब्ल्याक बक्स फाउन्डेसनले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो।
शुक्लाफाँटाका लागि दुई ब्याटरले अर्ध शतकीय योगदान दिए । प्लेयर अफ द म्याच घोषित किरण ठगुन्नाले सर्वाधिक ७० रन बनाए । उनले ४२ बलमा १० चौका र १ छक्का प्रहार गरे । यस्तै विशाल ऐरले ४३ बलमा ६ चौका र २ छक्का मद्दतले ५४ रन बनाए । लोकेश जोशीले ३७ रन बनाए।
बलिङतर्फ कैलाली क्रिकेट क्लबका लागि विनोद बोहराले ३ विकेट तथा धर्मराज जोशीले २ विकेट लिए।
दोस्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले शारदा सेकेण्डरी स्कुललाई ८१ रनले पराजित ग¥यो। १७१ रनको लक्ष्य पछ्याउने क्रममा शारदाले १५.५ ओभरमा ८९ रन मात्र बनाउन सक्यो । धनगढी र शारदा दुवै टिम सेमिफाइनल यात्राबाट बाहिर भइसकेका छन्।
लक्ष्य पछ्याउने क्रममा शारदाका अभिषेक मल्लले ४१ तथा जीवन चन्दले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
प्लेयर अफ द म्याच घोषित धनगढी क्रिकेट एकेडेमीका लेग स्पिनर युवराज खत्रीले ४ विकेट लिए। उनले ३.५ ओभरमा १६ रन खर्चिए । विजय रानाले २ तथा हिक्मत महरा, मान साउद र नीरज ऐरले १÷१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको धनगढी क्रिकेट एकेडेमीले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनायो।
धनगढीको ब्याटिङमा मान साउदले सर्वाधिक ३७ रन बनाए । यस्तै सचिन साउदले ३५, युवराज खत्रीले २९ तथा विजय रानाले २३ रन बनाए । ११५ रनमा ७ विकेट गुमेको अवस्थामा मान र युवराजले अविजित ५५ रनको साझेदारी गरे।
प्रतियोगिताअन्तर्गत बुधबार पनि दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ बजे क्रिकेट एक्सीलेन्स सेन्टर र जेएस स्पोर्ट्स–११ सुपर स्टार्सबीच तथा दोस्रो खेल शारदा सेकेण्डरी स्कुल र कैलाली मल्टिपल क्याम्पसबीच हुनेछ।
प्रतियोगिताको सेमिफाइनल पुग्ने तीन टिमको टुंगो लागिसकेको छ । समूह ‘बी’ बाट युथ अफ टिकापुर, समूह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडेमी र समूह ‘डी’ बाट सत्यवती एकेडेमी सेमिफाइनल पुगेका छन्।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको यो आठौं संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले २ लाख ५५ हजार र उपविजेताले १ लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा काठमाडौं, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता छ।