दक्षिण अफ्रिका र भारतबीचको तीन खेलको टी–२० सिरिज १–१को बराबरीमा सकिएको छ। सिरिजको निर्णायक मानिएको अन्तिम खेलमा सूर्यकुमार यादव र कुलदीप यादवले सानदार प्रदर्शन गरेपछि भारतले घरेलु टोलीमाथि १०६ रनको विशाल जित निकाल्दै सिरिज बराबरी ग¥यो।
पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको थियो।
पहिला ब्याटिङ गर्दै भारतले दिएको २०२ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १३.५ ओभरमा ९५ रनमै अलआउट भयो। उसका २ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउने सके। उसका डेविड मिलरले सर्वाधिक ३५ र कप्तान एइडन मारक्रमले २५ रन बनाए।
दक्षिण अफ्रिकाको इनिङ धरासायी बनाउने क्रममा भारत कुलदीप यादवले उत्कृष्ट प्रदर्शन गरे। २९औं जन्मदीन मनाइरहेका उनले २.५ ओभरमा १७ रन मात्र खर्चेर ५ विकेट लिए। यस्तै, रविन्द्र जडेजाले २ तथा मुकेश कुमार र अर्शदीप सिंहले समान १ विकेट लिए।
कप्तान सूर्यकुमारले कीर्तिमानी शतक प्रहार गरेपछि भारतले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २०१ रन बनायो। टि–२० अन्तराष्ट्रियमा चौथो शतक प्रहार गरेका उनले ५६ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै १०० रन बनाए।
यो शतकसँगै उनले रोहित शर्मा र ग्लेन म्याक्सवेलको नाममा रहेको टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक शतक बनाउने कीर्तिमान बराबरी गरेका छन्। सूर्यका अलावा यसस्वी जैसवालले ४१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६० रन बनाए भने रिंकुसिहले १४ रन बनाए।
दक्षिण अफ्रिकाका लागि केशव महाराज र लिजाड विलियम्सले समान २ विकेट लिए।
दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतले अब ३ खेलका एकदिवसीय र २ खेलको टेस्ट सिरिज खेल्ने छ।