एन्फासँग मिलेर अघि बढ्ने इन्द्रमान तुलाधरको घोषणा

16 Dec, 2023

अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व महासचिव एवं संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फामा मिलेर अघि बढ्ने बताएका छन्।

शनिबार एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईसहित संयुक्त पत्रकार सम्मेलन गर्दै तुलाधरले आफु नेपाली फुटबलमा मिलेर अघि बढ्न खोजेकाले एन्फामा रहेर काम गर्ने बताएका हुन्। तुलाधरले पंकज बिक्रम नेम्वाङ नेतृत्वको निर्वाचित कार्यसमितिलाई सहयोग गरेर जाने बताए।

विधानमा रहेका प्रावधान अनुसार नै नेम्वाङलाई हटाउने प्रयास आफुहरुले गरेपनि सफल नभएको भन्दै उहाले विधान अनुसार सबैलाई समट्ने प्रतिवद्धता नेम्वाङले गरेकाले अव सहयोग गर्ने धारणा राखे।

तुलाधरले एन्फाको कन्ट्रोल फन्डिङलाई फुकाउन र प्रतियोगिता सञ्चालनको जिम्मेवारीमा सहयोग गर्ने पनि बताए। तुलाधरले हरेक नेतृत्वलाई दुई कार्यकाल काम गर्न दिनुपर्छ भन्ने पक्षमा आफू रहेको जिकिर गरे।

पत्रकार सम्मेलनमा एन्फाका महासचिव किरण राईले कन्ट्रोल फन्डिङका कारण काम गर्न अप्ठेरो भएको सत्य भएपनि त्यो बिषय आफुहरु नेतृत्वमा आउनुभन्दा पहिलेकै भएको जिकिर गरे। उनले फुटबल विकासमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए।

तुलाधरले कर्माछिरिङ समूहसँग मिलेर अध्यक्ष पंकजबिक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको थियो। हेटौडामा भदौ २५ गते भएको एन्फाको विशेष महाधिवेशनमा भने तुलाधरले अविश्वासको प्रस्ताव दर्ता गराएका नेम्वाङलाईनै साथ दिए। उनकै सहयोगमा नेम्वाङले झण्डै दुई तिहाई विश्वासको मत प्राप्त गरेका थिए।