प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा भोलिबाट सुरु हुने भएको छ।
नेपाल क्रिकेट संघ(क्यान)ले आयोजना गर्न लागेको प्रतियोगिता पटक राउन्ट रोविन लिगका आधारमा हुनेछ। बुधबार क्यानले प्रतियोगिताका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले राउन्ड रोविन लिगबाट खेल हुने जानकारी दिए।
‘नेपाल क्रिकेट संघले अब नयाँ सोच र विचारले अगाडि बढ्नुपर्छ भन्दै गर्दा अहिले राउन्ड रोविन लिगबाट यो प्रतियोगिता सुरु गर्न गइरहेका छौं,’ उलने भने, ‘राउन्ड रोविन लिग हुँदा एउटा खेलाडीले न्यूनतम पनि ७ पटक खेल्न पाउने व्यवस्था छ।’
प्रतियोगितामा प्रदेशका सात र १ विभागीय टिम गरी कुल ८ टिम सहभागी हुने छन्। पुस १७ गतेसम्म चल्ने प्रतियोगिता मुलपानी र टियू मैदानमा आयोजना हुनेछ।
पत्रकार सम्मेलनमा कोशीकी कप्तान रुविना क्षेत्रीले पहिलो पटक राउन्ड रोविन लिगका आधारमा क्रिकेट खेल्ने अवसरले खेलाडीमा उत्साह थपेको बताइन्।
‘क्यानलाई हामी धन्यवाद दिन चाहन्छौं। पहिलो पटक राउन्ड रोविन लिगको आधारमा महिला खेलाडीले क्रिकेट लिग खेल्ने अवसर पाएका छौँ । यसले खेलाडीमा उत्साह थपेको छ,’ राष्ट्रिय टिमकी पूर्वकप्तान समेत रहेकी रुविनाले भनिन्।
प्रतियोगिताको पहिलो दिन बिहीबार टियू मैदानमा वाग्मती र मधेश मधेश प्रदशे तथा गण्डकी र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।