पिएम कपमा एपिएफको जितको यात्रा कायमै, कर्णाली ९२ रनले पराजित

27 Dec, 2023

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा विभागीय टिम एपिएफ क्लबले जितको यात्रालाई पाचौं खेलसम्म निरन्तरता दिएको छ। बुधबार भएको खेलमा उसले कर्णाली प्रदेशलाई ९२ रनले हरायो।

१६१ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ६८ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि त्रिर्सना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन्।

त्यस्तै गौरी बोहोराले १२ तथा रश्मी खड्काले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा एपिएफकी करुणा भण्डारीले चार विकेट लिइन भने सुमन विष्टले दुई विकेट लिइन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १६० रन बनायो। एपिएफका लागि राजमती ऐरीले सर्वाधिक ६७ रनको योगदान दिइन्। उनले ५५ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरिन्।

यस्तै, ममता चौधरीले ५५ बलमा ८ चौका मद्दतमा ६२ रन बनाइन्। रोमा थापाले अविजित १४ रन बनाइन्।

बलिङतर्फ कर्णाली प्रदेशकी त्रिर्सना विश्वकर्माले एक विकेट लिइन्।