टि-२० विश्वकपमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्ने

5 Jan, 2024

टी-२० विश्वकपमा नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस् रहेको समूह डीमा परेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले समूहमा तीन टेस्ट राष्ट्रसँग खेल्नेछ।

जसमा नेपालले दक्षिण अफ्रिका र श्रीलंकासँग पहिलो पटक टि–२० अन्तर्राष्ट्रियमा खेल्ने पाउनेछ। बंगलादेशसँग भने नेपालले सन् २०१४को टि–२० विश्वकपमै खेलेको थियो।

कात्तिकमा काठमाडौंमा सम्पन्न एसिया क्षेत्रको विश्वकप छनोटको फाइनलमा पुग्दै नेपालले ट्वान्टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको थियो।

प्रतियोतिगामा नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने छ। जुन ४मा हुने यो खेल अमेरिकाको डल्लासमा हुनेछ। यस्तै, नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११मा अमेरिकाकै फ्लोरिडामा खेल्नेछ।

यस्तै, नेपालले तेस्रो खेल दक्षिण अफ्रिकासँग सेन्ट भिसेन्टमा खेल्नेछ। खेल जुन १४मा हुनेछ। समूहको अन्तिम खेल नेपालले सेन्ट भिसेन्टमै बंगलादेशसँग जुन १६मा खेल्ने छ।

चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। भारत र पाकिस्तानसहित समूह ‘ए’ मा आयरल्यान्ड, क्यानडा र अमेरिका छ।

यस्तै, समूह ‘बी’ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड, ओमान र नामिबिया तथा समूह ‘सी’ वेस्ट इन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्युगिनी र युगान्डा छन्। समूहको शीर्ष दुई टोली सुपर एटमा पुग्नेछन् ।