जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा मुद्दा चलाइएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र पीडितलाई पाँच लाख क्षतिपूर्ति भराउने सजाय निर्धारण गरेको छ।
जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार उक्त फैसला सुनाएको हो। आदेशको पूर्ण पाठ आउन बाँकी छ।
जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले भने, ‘जरिवाना बापतको ३ लाख रुपैयाँ समेत पीडितले नै पाउने भनी आदेश भएको हो ।’
अदालतले लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर गरेको छ।
जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछानेले थप कानुनी उपचारका लागि उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। सन्दीपका कानुनव्यवसायी सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको प्रतिक्रिया दिए।
यो मुद्दामा दुवै पक्ष पुनरावेदनमा जाने निश्चित भएको छ । सरकारी वकिल पक्षले पीडित बालिग ठहर गरेकामा चित्त नबुझाएकाले पुनरावेदन जाने निश्चित छ । क्रिकेटर लामिछानेले आफूलाई दोषी ठहर गरेकामा चित्त बुझाएका छैनन् ।