कोशीमाथि पुलिसको ७ विकेटको जित, खेर गयो सुजनको शतक

16 Jan, 2024

प्रधानमन्त्री कप एकदिवसी क्रिकेटमा विभागीय टिम नेपाल पुलिस क्लबलले लागतार दोस्रो जित निकालेको छ। मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा पुलिसले कोशी प्रदेशमाथि ७ विकेटको जित निकाल्यो।

जारी प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो भने कोशी लगातार तेस्रो हार हो। यसअघि पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । कोशी भने मधेश प्रदेश र एपिएफसँग पराजित भएको थियो।

कोशीले दिएको १६७ रनको समान्य लक्ष्य पुलिसले २३.१ ओभर ३ विकेटको क्षतिमा भेट्टायो। पुलिसका लागि अर्जुन साउदले अर्धशतकीय योगदान दिए। उनले ६३ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ६२ रन बनाए।

यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले १७ बलमा ३४ रन बनाउँदा दिलिप नाथले ३१ बलमा ३१ रन बनाए। ओपनरद्वय सुनिल धमलाले १७ र कुशल भुर्तेलले १२ रन बनाए।

कोशीका कमल खत्रीले २ तथा सोनु मण्डलले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको केशीले सुनज थपलियाको शतक बनाए पनि पुलिसलाई ठूलो लक्ष्य दिन सकेनन्। उसले ४८.२ ओभरमा अलआउट हुँदै १६६ रन मात्र बनाउन सक्यो।

सुजनले १२६ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै १०५ बनाए। उनीलाई ४७औं ओभरको पहिलो बलमा करण केसीले सुनिल धमलाबाट क्याच आउट गराए।

प्रधानमन्त्री कपमा यो चौथो शतक हो। यसअघि पुलिसका रसिद खान, एपिएफका सन्दीप जोरा र आर्मीका विनोद भण्डारीले शतक बनाएका थिए।

सुजन बाहेक कोशीका अभ्यास तिमल्सिनाले २३ र कप्तान अंकित सुवेदीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

पुलिसका करण केसीले ३ विकेट लिँदा सुनिल धमला र ललित राजवंशीले समान २ विकेट लिए।