देव खनाल भन्छन्– नेपालको दर्शकलाई खुशी दिन चाहन्छौं

17 Jan, 2024

यू–१९ विश्वकप जनवरी १९बाट दक्षिण अफ्रिकामा सुरु हुँदैछ। प्रतियोगितामा नेपाल पनि सहभागी छ।

प्रतियोगिताअघि आईसिसीसँगको कुराकानीमा नेपाली टिमका कप्तान देव खनालले नेपालको क्रिकेट क्रेज धेरे रहेको र विश्वकपमा खेल जितेर खुशी दिन चाहेको बताएका छन्।

‘नेपालमा क्रिकेटको क्रेजबारे सबैलाई थाहा नै छ। हाम्रो साथमा नेपालमा ठूलो समर्थक छन् र उनीहरूकै कारण हामी उत्प्रेरित छौं,’ देवले भने, ‘त्यो क्रेजको कुनै तुलना हुन सक्दैन। हामी खेलाडीको रूपमा खेल जितेर उनीहरूलाई खुसी दिन चाहन्छौं।’

नेपालको सिनियर टिमबाट समेत खेलिसकेका कप्तान देवले लामो समयपछि यू–१९ विश्वकप खेल्न उत्साहित रहेको र आफ्नो टिमका खेलाडीहरुको सपना पूरा हुन लागेको बताएका छन्।

नेपालले ८ वर्षपछि यू–१९ विश्वकपमा पुनरागमन गर्दैछ। सन् २००० मा यू–१९ विश्वकपमा डेब्यु गरेको नेपालले पछिल्लो पटक २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकप खेलेको थियो। जहाँ समूह चरण पार गर्दै नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो र आठौं भएको थियो।

त्यो नै नेपालको अहिलेसम्मको सबैभन्दा राम्रो नतिजा हो। यस पटक नेपाल रहेको समूह डी मा तीन टेष्ट राष्ट्र पाकिस्तान, अफगानिस्तान र न्युजिल्याण्डको युवा टोली छ।

नेपालले २१ जनवरीमा न्युजिल्यान्डविरुद्ध पहिलो खेल खेल्दैछ । यस्तै २४ जनवरीमा पाकिस्तान र २७ जनवरीमा अफगानिस्तानविरुद्ध खेल्नेछ ।