सूर्य तामाङ चम्किँदा राष्ट्रिय खेलाडीले भरिएको आर्मीमाथि बागमतीको जित

17 Jan, 2024

स्पिनर सूर्य तामाङले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ।

बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सूर्य चम्किएपछि बागमतीले राष्ट्रिय खेलाडीले भरिएको विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हरायो।

आर्मीले दिएको ९८ रनको झिनो लक्ष्य बागमतीले २२.१ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो। समान्य लक्ष्य पछ्याउँदा पनि बागमतीले ठूलो संघर्ष गरेको थियो।

बागमतीका लािग अशोक पौडेलले सर्वाधिक २१ रन बनाए। उनले ३० बलमा २ चौका र १ छक्का प्रहार गरे। यस्तै, प्रतिश जिसीले पनि २४ बलमा समा१ चौका र छक्का प्रहार गर्दै २१ रन बनाए। यस्तै, इशान पाण्डे र रविन जोशीले समान १२ रन बनाए।

बागमतीमाथि दबाब बनाउने क्रममा आर्मीका सोमपाल कार्मीले ७ ओभरमा १ मेडनसहित २६ रन खर्चेर ३ विकेट लिए। यस्तै, शाहब आलम र जितेन्द्र मुखियाले पनि समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको आर्मी सूर्यको घातक बलिङ सामू टिक्न सकेन। ऊ २७.१ ओभारमा ९७ रनमै अलआउट भयो।

उसका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाउँदा भीम सर्कीले १८ र विवेक यादवले ११ रन बनाउनु बाहेक अन्य दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रतियोगितामा उत्कृष्ट लयमा रहेका सूर्यले ९ ओभरमा २ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिए। यस्तै, प्रतिशत जिसी र रिजन ढकालले समान २ विकेट लिए।

जारी प्रतियोगितामा सूर्यले ४ खेलमा १७ विकेट लिएका छन्। उनले मंगलबार मात्र मधेश प्रदेशविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए।

सुरूवातमा लगातार दुई खेल हारेको वाग्मतीले त्यसपछि लगातार दुई खेअल जितेको छ। आर्मीको भने यो पहिलो हार हो।