तीन खेलाडीले अर्धशतक बनाएपछि एपिएफमाथि मधेशको जित

18 Jan, 2024

तीन खेलाडीले अर्धशतक प्रहार गरेपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेश विजयी भएको छ। बिहीबा कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा मधेशले राष्ट्रिय खेलाडीले भरिएको विभागीय टिम एपिएफमाथि ५ विकेटको जित निकाल्यो।

एपिएफले दिएको २४७ रनको विशाल लक्ष्य मधेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। मधेशको जितमा रुपेश सिंह, पवन सर्राफ र निरज यादवले अर्धशतक प्रहार गरे।

रुपशले सर्वाधिक ७२ रन बनाए। उनले ७२ बलको सामाना गर्दै ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै, पवनले ६४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दैै ६६ रन बनाए।

यस्तै, निरजले ७० बलमा ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए। अनिल शाहले २९ रन बनाउँदा अभिशेख तिवारीले १३ रन बनाए।

मुख्य बलर अविनाश बोहरा घाइते भएपछि बलिङमा एपिएफ दबाबमा परेको थियो । उनी ब्याटिङका क्रममा घाइते भएका थिए। उसका रमेश कुर्मी र कप्तान रोहित पौडेलले समान २ किवेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २४६ रन बनायो। उसका लागि ओपनर आसिफ शेख र कप्तान रोहितले अर्धशतकीय योगदान दिए।

आसिफले सर्वाधिक ५९ रन बनाए। उनले ६९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै, रोहितले ७४ बलमा ५ चौका र २ छक्का मद्दतमा ५८ रन बनाए।

यस्तै, अमरसिंह रौटेलालले ५७ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ४९ रन बनाउँदा सन्दीप जोराले २२ बलमा २० रन बनाए।

मधेशका रुपेश सिंह र प्रदीप पासवानले समान २ विकेट लिए भने रञ्जिन कुमारले २ विकेट लिए।

प्रतियोगितामा मधेशको यो दोस्रो जित हो। यसअघि कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो। पहिलो हार व्यहोरेको एपीएफले यसअघि बागमती प्रदेश र कोशी प्रदेशलाई हराएको थियो ।