अर्जुन कुमालले ९० रनको आकर्षक इनिङ्स खेले पनि न्युजिल्यान्डले आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाललाई ६४ रनले पराजित गरेको छ।
स्नेहिथ रेड्डीले सानदार शतक बनाएपछि दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई ३ सय २ रन बनाएको थियो ।
बुफेलो पार्कमा जवाफमा आएको नेपालले ९ विकेट गुमाई २ सय ३८ रनमात्र बनाउन सक्यो । अर्जुनको इनिङ्स यू–१९ विश्वकपमा नेपाली खेलाडीको दोस्रो उच्च स्कोर हो । प्रदीप ऐरीले सन् २०१२ मा नामिबियाविरुद्ध अविजित ९८ र कनिष्क चौंगाईले २००४ मा पपुवा न्यु गिनीविरुद्ध अविजित ९० रन बनाएका थिए ।
अर्जुनले १ सय १४ बल खेली १२ चौका प्रहार गरे। कप्तान देव खनालले ३४ बल खेली ५ चौका र १ छक्कासहित ३६ रन बनाए। दीपक बोहरा ‘बी’ १५ र आकाश चन्द १४ रनमा आउट भए। सुवास भण्डारी र तिलक भण्डारीले दशौं विकेटमा ३७ रनको अविजित साझेदारी गरे ।
सुवास ५२ बल खेली ४ चौका प्रहार गरि ३३ र तिलक १९ बल खेली २ चौका र १ छक्का प्रहार गरि १७ रन बनाई अविजित रहे। न्युजिल्यान्डबाट म्यासन क्लार्कले ३ विकेट लिए । उनले ८ ओभरमा १ मेडन राख्दै २५ रन खर्चे । कप्तान ओस्कार ज्याकसन र इवाल्ड स्रेउडरले २–२ विकेट लिए।
यसअघि रेड्डीले न्युजिल्यान्डबाट अविजित १ सय ४७ रन बनाए। उनले अन्तिम ओभरमा सुवास भण्डारीलाई दुई छक्कासहित १४ रन बनाए। इनिङ्सको अन्तिम बलमा पनि छक्का प्रहार गरेका उनले कुल १ सय २५ बल खेलेर ११ चौका र ६ छक्का प्रहार गरे।
न्युजिल्यान्डले १० ओभरमा ५३ रन जोडेर सानदार सुरुआत गरेको थियो। ११ औं ओभरको पहिलो बलमा सुवासले लुक वाटसनलाई १४ रनमा बोल्ड गरि नेपाललाई पहिलो सफलता दिलाए। अर्का ओपनर टोम जोन्सलाई तिलकले ३३ रनमा बोल्ड गरे । उनले ४५ बल खेली ५ चौका प्रहार गरे। ओलिभर तेवाटियालाई दीपेशले शुन्यमा आउट गरेपछि नेपालले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो।
तर रेड्डी र ज्याकसनले चौथो विकेटमा १ सय ५७ रनको साझेदारी न्युजिल्यान्डलाई बलियो स्थितिमा उभ्याए । ज्याकसनले ८१ बल खेली ३ चौका र ५ छक्का प्रहार गर्दै ७५ रन बनाए । गुल्शनले लच्लान स्ट्याक पोल र ज्याक कमिङ्सलाई लगातार बलमा शुन्यमा आउट गरे। एलेक्स थोम्सनले १३ रन बनाउदै रेड्डीसँग आठौं विकेटमा ४९ रनको साझेदारि गरे।
नेपालबाट सुवासले ३ विकेट लिए। उनले १० ओभरमा ६० रन खर्चे । गुल्शनले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए। दीपेश, तिलक र आकाशको नाममा १–१ विकेट रहयो।
नेपालविरुद्ध न्युजिल्यान्डले यू–१९ विश्वकपमा पहिलो विजय हात पारेको हो। नेपालले २००६ को प्लेट फाइनलमा न्युजिल्यान्डलाई १ विकेटको र त्यसको १० वर्षपछि बंगलादेशमा नेपालले समूहचरणको खेलमा न्युजिल्यान्डमाथि ३२ रनको विजय हात पारेको थियो । नेपालले बुधबार पाकिस्तानसँग खेल्ने छ।