प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सोमबार एकै खेलमा २ शतक बनाएका छन्। कीर्तिपुरस्थित टियू मैदान भएको खेलमा मधेर र सुदूरपश्चिम प्रदेशबीचको खेलमा दुवै टिमका खेलाडीले शतक बनाएका छन्।
खेलमा मधेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनले हरायो। ३२० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम नरेन भट्टको शतकका बाबजुद ४४.५ ओभरमा २३९ रनमै अलआउट भयो।
नरेन भट्टले १२२ बलमा १३ चौका र १ छक्कासहित १२१ रनको शतकीय इनिङ खेले। उनी बाहेक अन्य ब्याट्सम्यानले राम्रो योगदान दिन सकेनन्। नारायण जोशी २६, किरण ठगुन्ना २० र नरेन साउद १८ रनको योगदान दिए।
मधेशका राजेश यादव र प्रदीप पासवानले समान ३ विकेट लिए भने रन्जित कुमारले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो। मधेशका लागि मयन यादवले १२८ बलमा ८ चौका र २ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेका थिए।
यस्तै, पवन सरार्फले ६३ बलमा ४ चौका र ४ छक्कासहित ७० रन बनाए भने अनिल साह ७० बलमा ६ चौका र २ छक्कासहित ६९ रन बनाए।
सुदूरपश्चिमका शेर मल्लले ४ विकेट लिए भने विकाश आग्रीले २ विकेट लिए।
सुदूर ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । मधेश ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ नेटरनरेटका कारण तेस्रो स्थानमा छ।