प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशले लागतार साताैं हार व्यहोरोको छ। मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशी कर्णाली प्रदेशसँग ६ विकटले पराजित भयो। कर्णालीको भने यो तेस्रो जित हो।
कोशीले दिएको १५२ रनको सामान्य लक्ष्य कर्णालीले २८.३ ओभरमा ४ विकेटको क्षतिमा गुमाएर भेट्टायो। कर्णालीलाई जिताउन अर्जुन घर्तीले नट आउट अर्धशतकको पारी खेले। ५० रनमा नटआउट रहेका उनले ६ चौका र २ छक्का हाने।
यस्तै विपिन शाही २८ रनमा आउट भए भने हिमांशु शाही २४ रनमा नट आउट रहे। कोशीका हेमन्त राईले ३ र कमल खत्रीले १ विकेट लिए।
पहिला ब्याटिङ गरेको कोशी ३४.३ ओभरमा १५१ रनमै अलआउट भयो। उसका सुजन थपलियाले ७३ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्। सुजनले ७३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।
कर्णालीका दिनेश अधिकारीले ४, प्रकाश जैशीले ३ तथा दिवान पुनले २ विकेट लिए ।
यस्तै, अर्को खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशमाथि रोमाञ्चक जित निकाल्यो। गण्डकीले बागमतीलाई ३ विकेटले हरायो।
गण्डकीसँगको हारले बागमतीको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावनामा ठूलो धक्का लागेको छ।
जितको लागि पाएको १९९ रनको मध्यम विजयी लक्ष्य गण्डकीले ४९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । उसका करन पंगेनीले ९८ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको एक उत्कृष्ट इनिङ खेले।
यस्तै, ईश्वर क्षेत्रीले ३६ र मुस्कान थापाले २७ रनको योगदान दिए। बागमतीका प्रतिश जिसीले २ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बागमती ४९.१ ओभरमा १९८ रनमा अल आउट भएको थियो। उसका आशुतोष घिरैयाले ६९ बलमा ५ चौकासहित सर्वाधिक ४४ रन बनाए।
ईशान पाण्डेले ६२ बलमा २ चौका र २ छक्कासहित ४३ रन बनाए । बागमतीका अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। गण्डकीका कमल परियार ४ तथा विपिन खत्री र अमृत गुरुङले समान २ विकेट लिए।
बागमती ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ । गण्डकी ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अंकका साथ आठौं स्थानमा छ ।
पुलिस ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ । मधेश ६ खेलमा ८ अंक्का साथ तेस्रो स्थानमा छ । आर्मी ६ खेलमा ८ अंकका साथ चौथो स्थानमा छ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।