जितेन्द्र र कुशल चम्किँदा आर्मीको जित, फाइनल नजिक

29 Jan, 2024

तीव्र गतिका बलर जितेन्द्र मुखिया र कुशल मल्लले उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ।

जितेन्द्र र कुशल चम्किएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हरायो। यो जितसँगै आर्मी प्रतियोगिताको फाइनल नजिक पुगेको छ। छैटौं जित निकाल्दै आर्मी १२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ।

२६३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ४१.१ ओभरमा १६५ रनमा अलआउट भयो। उसका किरण ठगुन्नाले ७४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रन बनाए। अन्य कुनै पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन्।

आर्मीको जितमा जितेन्द्र मुखियाले ६.१ ओभरमा २ मेडनसहित १० रन खर्चेर ५ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा अल आउट भएको थियो। आर्मीको जितमा कुशल मल्लले ६७ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए।

यस्तै, सन्दीप रजालीले ३७, बसिर अहमदले ३६, सोमपाल कामीले ३१, सन्तोष कार्कीले ३० रन बनाए।

सुदूरपश्चिमका भोजराज भट्टले ९.३ ओभरमा १ मेडनसहित ६३ रन खर्चेर ६ विकेट लिए। यस्तै, नरेन साउदले ३ विकेट लिए।

पुलिस ७ खेलमा १४ अंकका साथ फाइनलमा पुगि सकेको छ। आर्मी ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ।

आर्मीले अन्तिम खेल बिहीबार गण्डकीसँग खेल्नेछ। उक्त खेलमा विजयी भएमा सोझै फाइनलमा पुग्नेछ। पराजित भएमा भने अन्य टोलीको नेटरनरेटमा भर पर्नेछ।