लगातार सातौं जितपछि पुलिस पिएम कपको फाइनलमा

29 Jan, 2024

विभागीय टिम नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एदिवसीय क्रिकेटमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। जारी प्रतियोगितामा पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै लगातार सातौं जित निकालेको छ।

यो जितसँगै पुलिस प्रतियोगिताको फाइलनमा पुगेको छ। पुलिस फाइलन पुग्ने पहिलो टिम हो। लिगमा अझै पुलिसले २ खेल खेल्न बाँकी छ।

सोमबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो। गण्डकीले दिउको १७१ रनको लक्ष्य पुलिसले २४.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। पुलिसका लागि ३९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए।

यस्तै, अर्जुन साउद ४९ बलमा ५ चौका र १ छक्कासहित ४४ रन बनाउँदा आरिफ शेख २७ र कुशल भुर्तेल २२ रन बनाए। गण्डकीका सन्दीप पराजुलीले २ तथा विपिन खत्री र कमल परियारले समान १ विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको गण्डकी ३८.३ ओभरमा १७० रनमै अलआउट भयो। उसका अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए। यस्तै, कमल परियार र करन पंगेनीले समान ३० रन बनाउँदा समिर कँडेल २९ रन बनाए।

गण्डकीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका रसिद खानले ६ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए। यस्तै, ललित राजवंशी र करण केसीले २–२ विकेट लिए।