यू–१९ विश्वकपको सुपर सिक्समा नेपालले बंगलादेशसँग खेल्दै

31 Jan, 2024

दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप क्रिकेटमा नेपालले सुपर सिक्सको पहिलो खेलमा आज बंगलादेशको सामना गर्दैछ। दुई देशबीचको खेल दक्षिण अफ्रिकामा नेपाली समयानुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ।

समूह चरणका खेलमा नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो। त्यस्तै अफगानिस्तानलाई जित्दै सुपर सिक्समा पुगेको हो।

नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा आफ्नो पहिलो खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिर भएको छ। भारत र पाकिस्तानले मंगलबार आ–आफ्नो खेल जितेर सेमिफाइनलको सम्भावना बलियो बनाएसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना टुंगिएको हो।

दक्षिण अफ्रिकामा भइरहेको प्रतियोगितामा नेपालले बुधबार बंगलादेशसँग खेलेर सुपर सिक्स यात्रा सुरु गर्नेछ। ब्लोमफोन्टेनमै नेपालले शुक्रबार भारतसँग सुपर सिक्सको दोस्रो तथा अन्तिम खेल खेल्नेछ। तर त्यसअघि नै नेपालको सेमिफाइनल सम्भावना सकिएको हो।

सुपर सिक्सको खेलमा भारतले न्युजिल्यान्डलाई २ सय १४ रनले र पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराए।

सुपर सिक्सको ग्रुप १ मा भारत र पाकिस्तानको ६–६ अंक पुगेको छ । बंगलादेश र न्युजिल्यान्डसँग २–२ अंक छ भने नेपाल र आयरल्यान्डसँग कुनै अंक छैन। समूह चरणमा भारत र पाकिस्तानले सबै ३ खेल जितेका थिए।