दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्सको पहिलो खेलमा नेपाल १६९ रनमै अलआउट भएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अलआउट हुँदै बंगलादेशलाई मध्यम लक्ष्य दिएको छ।
नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए। उनले १०० बलमा ६ चौका प्रहार गरे। यस्तै, कप्तान देव खनालले ३० बलमा ३ चौका प्रहार गर्दै ३५ रन बनाए। यी दुईले चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए।
यस्तै, सुवास भण्डारीले ३४ बलमा १८ रन बनाउँदा अर्जुन कुमालले २६ बलमा १४ रन बनाए। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर बनाउन सकेनन्। नेपालको सिनियर टिमका नियमित सदस्य गुल्सन झा विश्वकपमा लगातार चौथो खेलमा फ्लप भए। उनले ३ रन मात्र बनाउन सके।
नेपालको इनिङ धरासायी बनाउने क्रममा बंगलादेशका रोहनत बोर्सनले ८.५ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए। यस्तै, शेख पवेज जिवोनले ३ विकेट लिए।
सुपर सिक्स खेल्नुअघि नै नेपाल सेमिफाइनलमा पुग्न असफल भइसकेको छ। भारत र पाकिस्तानले सुपर सिक्सको पहिलो खेल जितेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना
सकिएको थियो। यता, बंगादेशको भने सम्भावना बाँकी नै छ। सुपर सिक्सका दुवै खेल जिते रन रेटमा पाकिस्तानलाई पछि पार्दै सेमिफाइनल पुग्न सक्छ।