पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको २३औं संस्करणको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा दिउँसो २ बजेदेखि उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लब भिड्ने छन्।
आर्मी यसअघि चार पटक फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन। प्रतियोगितामा पाँचौं पटक उपाधि नजिक पुगको आर्मीको मुख्य लक्ष्य च्याम्पियन बन्ने नै हुनेछ।
थ्री स्टार क्बलले भने हालसम्म पाँच पटक उपाधि जितिसकेको छ। थ्री स्टार छैटौँ उपाधिको खोजीका लागि आज मैदानमा उत्रने छ। आर्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ सालमा प्रतियोगिताको फाइनलमा पुगेको थियो
पछिल्लो पटक आर्मी र थ्रिस्टार २०७५ सालमा फाइनलमा भिडेका थिए । तर त्यस बेला थ्रिस्टार नै च्याम्पियन बनेको थियो। उपाधि भिडन्तमा पाँचवर्षपछि थ्रिस्टारसँग बदला लिने मौका आर्मीलाई छ। थ्री स्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ सालमा प्रतियोगिताको उपाधि चुमेको थियो।
प्रतियोगितामा हालसम्म सात पटक फाइनलमा पुगेको थ्रिस्टार २०७४ सालमा सम्पन्न १६औँ संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।
जारी प्रतियोगितामा आर्मीले प्रिक्वाटरफाइनलको पहिलो खेलमा राइजिङ स्टार क्लबलाई हराएर विजयी सुरुआत गरेको थियो। क्वाटरफाइनलमा सङ्कटा र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई पराजि गर्दै आर्मी फाइनल पुगेको हो।
थ्रिस्टारले भने उद्घाटन खेलमा आयोजक सहारालाई हराएको थियो । क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबमाथि जित निकाल्दै उसले फाइनलमा स्थान बनाएको हो।
प्रतियोगिताको च्याम्पियन टोलीलाई रु १२ लाख एक हजार तथा उपविजेताले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने आयोजक सहरा क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो । पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने छन्।