फिफा विश्वकप २०२६ : मेक्सिकोबाट सुरु, अमेरिकामा अन्त्य

5 Feb, 2024

सन् २०२६को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन्। फिफाले आइतबार राति विश्वकपका तालिका सर्वाजनिक गरेको छ। जसअनुसार जुन ११बाट सुरु हुने विश्वकप १९ जुलाईमा सकिनेछ।

प्रतियोगिताको उद्घाटन खेल मेक्सिको र फाइलन अमेरिकामा हुनेछ। उद्घाटन मेक्सिकोको अज्टेका स्टेडियममा हुनेछ भने फाइनल खेल अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियमा हुने फिफाले जनाएको छ। उद्घाटनको एउटा टिम घरेलु टोली मेक्सिको नै हुनेछ।

अन्य दुई आयोजक अमेरिका र क्यानडाले अफ्नो पहिलो खेल घरेलु मैदानमै जुन १२मा खेल्ने छन्।

यो पटकबाट विश्वकपमा ४८ टिम सहभागी हुनेछन्। यसअघि ३२ टिम सहभागी हुँदै आएको प्रतियोगितामा फिफाले यो पटकबाट १६ टिम थप्दै ४८ टिम बनाएको हो।

तीन देशमा ३९ दिनसम्म चल्ने प्रतियोगितामा कुल १०४ खेल हुनेछ। टिम थपिएसँगै प्रतियोगिताको समय पनि १० दिन बढी लम्किएको छ।

विश्वकपका क्वाटरफाइनलका अमेरिकाको लस एन्जलस, कान्सास सिटी, मायमी र बोस्टनमा हुनेछ। यस्तै सेमिफाइनल डल्लास र एटलान्टामा हुनेछ भने तेस्रो स्थानको लागि खेल मायामीमा हुनेछ। डल्लासले सबैभन्दा धेरै ९ खेल आयोजना गर्ने फिफाले जनाएको छ।

यस विश्वकपको ड्र भने २०२५ को अन्तिममा सार्वजनिक गर्ने फिफाले जनाएको छ ।