च्याम्पियन्स लिगमा रियल र सिटी विजयी

14 Feb, 2024

च्याम्पियन्स लिग फुटबलको नकआउट चरण मंगलबार रातिबाट सुरु भएको छ। मंगलबार राति भएका दुई खेलमा स्पेनिस क्लब रियल मड्रिड र डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब म्यान्चेस्टर सिटी विजयी भएका छन्।

रियलले जर्मन क्लब आरबी लेइपजिगलाई उसकै मैदानमा १–०ले हरायो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियलका लागि ४८औं मिनेटमा ब्राहिम डियाजले गोल गरे।

अर्को खेलमा सिटीले एफसी कोपनहेगनमाथि ३–१को जित निकाल्यो। सिटीका लागि केभिन डे ब्रुयन, बर्नार्डो सिल्भा र फिल फोडेनले गोल गरे भने कोपहेगनका म्याग्नुस माटन्सनले गोल गरेका थिए।

१०औं मिनेटमा डे ब्रुयनको गोल सिटीले अग्रता लियो। ३४औं मिनेटमा कोपहेगनका माटन्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ४५औं मिनेटमा सिल्भाले गोल गरेपछि पहिलो हाफमा सिटीले २–१को अग्रता लियो। त्यसपछि इन्जुरी समयकाे दाेस्राे मिनेटमा फोडेनले गोल गरेपछि सिटी ३–१ले विजयी भयो।