सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

नेपाल एसिसी वुमन्स प्रिमियर कपको सेमिमै रोकियो, एसिया कपमा पुग्न असफल

2024 ACC Women’s Premier Cup. 13th February 2024, UKM Oval Match between Nepal and Maldives.

नेपाल एसिसी वुमन्स प्रिमियर कप २०२४ को सेमिफाइनलबाटै बाहिरिएको छ। शुक्रबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भयो। यो पराजयसँगै नेपालको एसिया कप खेल्ने सम्भावना समाप्त भएको छ।

११६ रनको लक्ष्य मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। मलेसियाको जितमा एल्सा हन्टरले ५३ बलमा ६ चौकासहित ६९ रनको अविजित इनिङ खेल्दै टोलीलाई जिताइन्।

यस्तै, मास एलिसा १३, महिराह इजाती १६ र वान जुलिया ११ रनमा आउट भइन्। नेपालको सीता रानामगरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन्। रुविना क्षेत्रीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन्। कविता जोशीले २ र कविता कुँवरले १ विकेट लिइन्।

त्यसअघि बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो। नेपालकी कप्तान इन्दु बर्मा ३७ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाएकी थिइन्। फिनिसर डली भट्टले राम्रो अन्त्य गर्दै १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको महत्वपूर्ण इनिङ खेलेकी थिइन्।

ओपनर सीता रानामगरलाई ६ रनमा आउट भएकी थिइन्। दोस्रो विकेटका लागि इन्दु र कविताले ३५ रनको साझेदारी गरे। कविता ३१ बलमा २ चौकासहित २३ रन रन आउट हुन पुगेकी थिइन्। रुविना १८ बलमा २ चौकासहित २० रनमा आउट भइन्।

मलेसियाकी महिराह इजाती इस्मालीले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन्। विनिफ्रेड दुराईसिंघमले १ विकेट लिइन्।

यसअघि थाइल्यान्डलाई ४ रनले हराउँदै युएई फाइनलमा पुग्नुको साथै एसिया कपमा पनि छनोट भइसकेको छ। फाइनल आइतबार हुनेछ।

1.3Kशेयर