आईसिसी विश्वकप लिग–२को पहिलो त्रिकोणात्मक सिरिजको दुवै खेलमा नेपालमा नामिबियासँग पराजित भएको छ। घरेलु मैदानमा जारी सिरिजको तेस्रो खेलमा नेपाल बुधबार नामिबियासँग २ विकेटले पराजित भयो।
कीर्तिपुरस्थित टियू मैदानमा नेपालले दिएको १६९ रनको सामान्य लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो। उसका लागि कप्तान जेरार्ड इरास्मसले अर्धशतकीय योगदान दिए। उनले ५६ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए।
सुरुआतमै २ विकेृट गुमाएको नामिबियालाई इरास्मसले माइलक भान लिंगेनसँग तेस्रो विकेटका लागि महत्वपूर्ण अर्धशतकीय साझेदारी गरेका थिए। भान लिंगेनले ३४ बलमा ४ चौका र २ छक्का मद्दतमा ३१ रन बनाए।
यी दुईबाहेक जेजे स्मिथले नआउट ३४ रनको महत्वपूर्ण इनिङ खेले। उनले ६६ बलमा १ चौका र २ छक्का प्रहार गरे। यस्तै, रुबेन त्रुपेलमनले १६ रन बनाए।
बलिङमा नेपालका कशुल भुर्तेलले ५ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए। नेपालका दुवै फास्टबलर करण केसी र सोमपाल कामी विकेट बिहीन बने।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल नामिबियाका स्पिनरले उत्कृष्ट बलिङ गरेपछि ३७.१ ओभरमा १६८ रनमै अलआउट भयो।
जारी प्रतियोगितामा पहिला ब्याटिङ गर्ने टिमले बनाएको यो उच्च योगफल हो। यसअघिका दुवै खेलमा पहिला ब्याटिङ गर्ने टिमले १४० रन पनि कटाउन सकेका थिएनन्।
नेपालका लागि आसिफ सेखले अर्धशतक बनाए। उनले ६४ बलमा ८ चौका १ छक्का प्रहार गर्दै ५८ रन बनाए। जारी सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो।
१००–३को बलियो अवस्थामा रहेको नेपाल त्यसपछि लगातार विकेट गुमाउँदा लो स्कोरमै अलआउट भयो। नेपालले पछिल्ला ७ विकेट ६८ रन जोड्दा गुमाएको थियो। आसिफ र कुशलले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए।
तर, त्यसपछि लागतार २ ओभरमा २ विकेट गुएपछि नेपाल दबाबमा परेको थियो। तीन विकेट गुमाएपछि आसिफ र कुशलले चौथो विकेटका लागि ५७ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए। तर, त्यससपछि कुनै पनि साझेदारी बन्न सकेन।
कशुलले ५२ बलमा १ चौका र २ छक्का मद्दतमा ३६ रन बनाउँदा कुशल भुर्तेलले २८ रन बनाए। यस्तै, भीम सार्कीले ३६ बलमा ३ चौका मद्दतमा २६ रन बनाए। नेपालका तीन ब्याट्सम्यान अनिल साह, देव खनाल र कप्तान रोहित पौडेल डकआउट भए।
नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका स्पिनरले ९ विकेट लिए। उसका बर्नार्ड स्कोल्ट्ज र निकोल लोफ्टिइ इटोनले समान ४ विकेट लिए। यस्तै, अर्का स्पिनर जेरार्ड इरास्मसले १ विकेट लिँदा फास्ट बलरका रुपमा ज्याक ब्रेसवेलले १ विकेट लिए।
जारी सिरिजका चार वटै खेलमा टस नै महत्वपूर्ण बनिरहेको छ। चार खेलमा टस जितेर पहिला बलिङ गर्ने टिम विजयी भएका छन्। नामिबियाको सिरिजमा दोस्रो जित हो। यस्तै, नेपाल र नेदरल्यान्ड्सले समान १ खेल जितेका छन्।